विनोध चौधरी भन्छन् : युवाहरूलाई उद्यमशील बनाए मात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ
कांग्रेसको ‘गरिखाने अभियान’मा जिल्ला सभापतिहरुसँग अन्तरक्रिया
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
681
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम लगानी पूर्वाधार र रोजगार समितिका सभापति विनोद चौधरीले युवाहरूलाई उद्यमशील बनाएरमात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।
नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ले पार्टीका जिल्ला सभापतिहरूसँग ‘गरिखाने अभियान’का सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै उनले हरेक वर्ष चार लाख युवा श्रम बजारमा आउने भएपनि देशभित्र मुश्किलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको दयनीय स्थिति रहेको बताए ।
आकांक्षी तथा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन मुलुकभित्र उद्यमशीलता विकासका अवरोध हटाउँदै नयाँ माहोल सिर्जना गर्न गरिखाने अभियान सञ्चालन गरेको उल्लेख गरे ।
‘प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अङ्गीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ,’ उनले भने ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।’
कांग्रेसका जिल्ला सभापतिहरूलाई ‘गरिखाने अभियान’ का तर्फबाट स्वागत गर्दै चौधरीले युवाहरूलाई उद्यमशील बनाएरमात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा राखेका हुन् । कार्यक्रममा समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैं अगुवा र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताउनुभयो । समितिकै सहसंयोजक एवं बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको बताए ।
कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवले आफूले राजनीतिसँग जीवन निर्वाहका लागि व्यवसाय शुरु गर्दा पार्टीभित्रैबाट ‘व्यवसायमा लागेको व्यक्तिले के राजनीति गर्छ र !’ भनेर निरुत्साहीत गर्ने काम भएको स्मरण गर्दै अहिले हरेक राजनीतिक दलमा यो विचार क्रमशः परिवर्तन हुँदै गएको बताए ।
‘पूर्णकालीन राजनीतिमा लाग्नेले जीवन निर्वाहका लागि पेशा-व्यवसाय नै गर्न हुँदैन भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘राजनीति पेशा हुन सक्दैन, यो सेवा हो । राजनीति गर्नेले आयआर्जनका लागि सँगसँगै आफ्नो पेशा र व्यवसाय पनि गर्नुपर्छ । यसले राजनीतिलाई अझै सङ्लो बनाउछ ।’
राज्यको नीति नियमभित्र रहेर व्यवसाय गर्ने व्यक्तिलाई समाजिक प्रतिष्ठाको सट्टा दलाली चरित्र उनीहरूको मानमर्दन गर्ने, निरुत्साहित गर्नेमा क्रियाशील रहेकोमा क्रमशः समाजमा यसबारे जागरण र चेतना फैंलाउँदै लैजानुपर्ने र ‘गरिखाने अभियान’मार्फत् अघि सारिएको उद्यमशीलता विकासका लागि राजनीतिक परिचालनको अभियानलाई अघि बढाउनुपर्ने पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जीपछिरिङ लामाको भनाई थियो ।
नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिमा प्रवेश गरेको वहानामा आफ्नो जीवन निर्वाहको पाटोलाई नभुल्न जागरण गर्नेगरी सातामा ‘चार दिन रोटी, तीन दिन पार्टी’को अभियान अघि बढाउने भैसकेको छ ।
कम्युनिष्ट पार्टीले सरकारमा छँदा कार्यकर्ता पाल्न राज्यकोषबाट तलबभत्ता दिने चर्चा बाहिर आएको सन्दर्भमा कांग्रेसले मुलुकका प्रति त्यस्तो घातक कार्य गर्न नहुने बरु कार्यकर्तालाई स्वरोजगार र उद्यमशील बन्न सघाएर मुलुकमा उत्पादन, रोजगारी र समग्र आर्थिक-सामाजिक विकासमा टेवा पुर्याउने गरी अभियान अघि बढाएको हो ।
व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिमा पछि पुर्याउन तिकडम गर्ने, मानमर्दन गर्ने, दुःख दिने काम हुँदै आएको परिप्रेक्ष्यमा राजनीति गर्नेले त्यसलाई नै पेशा बनाउँदा दोहन, भ्रष्टाचारका समस्या आएको र कतिपय पूर्णकालीन राजनीति गर्नेले पुख्र्यौली सम्पत्ति समेत सकाएर रित्तो अवस्थामा पुगेको भन्दै व्यवसाय गर्नुलाई समस्या होइन इज्जतका रूपमा लिनुपर्ने कैलाली कांग्रेसका सभापति नरनारायण शाहले बताए ।
‘हामी तीन पुस्तादेखि जिल्ला सभापति छौं । हजुरबुबाको पालामा डेढ सय विगाह जति जमिन थियो । राजनीति गर्ने क्रममा उहाँले र पछि बुबाको पालामा जमिन बेच्यौं,’ उनले भने, ‘अहिले म कैलाली सभापति छु । मैंले यसरी हुँदैन भनेर व्यवसाय पनि गर्छु । मार्ट सञ्चालन गरेको छु, रेष्टुरेन्ट चलाउँछु । जीवन धान्न आयआर्जनका क्रियाकलापमा लाग्नैपर्छ । कार्यकर्तालाई यसमा प्रोत्साहित गर्नुपर्छ ।’ उनले पार्टी सञ्चालनका लागि पनि कैलाली कांग्रेसले कसैसँग चन्दा नलिएको र पार्टी कार्यालयको सटरबाट आउने भाडा लगायतबाट पार्टी संचालन भैरहेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले उद्यमशीलता विकासका लागि गरिखाने अभियानलाई आफ्नो जिल्लामा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय सम्भाव्यताका आधारमा सम्भाव्य परियोजना विकास गरी उद्यमशील बन्न युवाहरूलाई प्रोत्साहीत गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
उद्यमशीलता विकासका लागि सीप, पुँजी, प्रविधि, बजार लगायत सबै पाटोमा स्थानीय सरकार, उद्योग वाणिज्य संघ, दातृ निकाय तथा अन्य सरोकारवालासँग मिलेर काम अघि बढाउन उनीहरुले तत्परता देखाएका छन् । कार्यक्रममा २३ भन्दा धेरै जिल्लाका सभापतिहरू उपस्थित थिए । उनीहरुले चाँडै यस अभियानलाई ७७ जिल्लामै विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । अहिले गरिखाने अभियान अन्तर्गत पर्सा, मकवानपुर, झापा, धनकुटा, काभ्रे, काठमाडौं, कास्की, नवलपुर, रुपन्देही लगायत जिल्लामा पुगिसकेको छ ।
गरिखाने अभियान राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने अभियान हो । त्यस अभियानमा जोडिएर उद्यमशील बन्न चाहानेहरूलाई परियोजनासम्बन्धी सोच/सम्भाव्यता, सीप, पुँजी तथा प्रविधि, बजार पहुँच विस्तार तथा भैरहेका उद्यमलाई स्केल-अप (स्तरोन्नति)का लागि व्यवसायिक रूपमा उद्यमशीलता विकासमा काम गरिरहेका संस्थाहरूसँग सम्पर्क स्थापित गराई उक्त उद्यमशील सोचलाई व्यवहारमा रूपान्तरण गराउने काम हुँदै आएको छ ।
जिल्ला सभापतिहरूसँगको अन्तक्र्रिया कार्यक्रममा धनुषाका जिल्ला सभापति दिनेश यादवले ‘स-सानो व्यावसायिक कर्जाका लागि पनि बैंकले धितो माग्ने व्यवस्था नै उद्यमशीलता विकासको मुख्य अवरोध भएको’ बताए । व्यवसायिक कौशल भएका, नवीनतम र सम्भाव्य परियोजनाका सोच भएकालाई स-सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
अन्तक्र्रियाका क्रममा चालु आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने अपेक्षा गर्दै समितिका संयोजक चौधरीले लघु-घरेलु तथा सना उद्यमको विकासले समावेशी र स्थायित्व सहितको आर्थिक विकासको जग निर्माण गर्नेहुँदा उद्यमशीलता विकासलाई महत्वका साथ अघि बढाउने सभापतिहरूको प्रतिवद्धताको प्रशंशा गर्दै गरिखाने अभियानमा हातेमालो गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले विश्वभर सफल उद्यमीको पहिचान बनाउनुभएका चौधरीले आफ्नो सीप र कौशलमार्फत् गरिखाने अभियानलाई राष्ट्रव्यापी बनाउने अभियान थालनी गरेका त्यसलाई सघाउन आग्रह गरे । त्यस्तै, नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यसलाई पार्टीले १४औं महाधिवेशनपछि पनि आवश्यक सहयोग र निरन्तरता दिएर अघि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सबै जिल्ला सभापतिले यस अभियान सफल बनाउन पार्टीपंक्ति सिङ्गो रूपमा परिचालित हुनुपर्ने भन्दै यस अभियानलाई शुभकामना व्यक्त गरे । उनीहरूले आ-आफ्नो जिल्लामा अभियान सञ्चालन गर्ने तत्परता देखाएका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णले हालै नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका समितिका सहसंयोजक उमेश श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
समितिले गत वर्ष जेठ ४ मा समिति गठन भएपछि यसले अर्थतन्त्रका विभिन्न मुद्दाहरूमा आफ्नो धारणा राख्नुका साथै उद्यमशीलता विकासमैत्री वातावरणका लागि सरकार तथा सरोकारवालालाई सल्लाह-सुझाव, परामर्श गर्नुका साथै पैरवी समेत गर्दै आएको छ ।
समितिले युवाहरूलाई उद्यमशील बनाउन फ्ल्यागशीप कार्यक्रमका रूपमा ‘गरिखाने अभियान’ अघि बढाएको छ । गरिखाने अभियानमार्फत् राजनीतिक परिचालन कार्यक्रम, उद्यमशीलता विकाससम्बन्धी विभिन्न अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् ।