बिना कसुर ४० बर्ष भारतीय जेल बसेका दुर्गाप्रसाद मध्यरातमा राजमार्गमा हिंड्दै गर्दा भेटिए
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
1.8k
Shares
काठमाडौं । बिना कसुर ४० बर्ष भारतीय जेलमा विताएर घर ल्याइएका इलामका दुर्गा प्रसाद तिम्सिनाको मानसिक सन्तुलन विग्रदै गएको छ । आइतबार एकाएक घरबाट हराएका दुर्गाप्रसाद मध्यरातमा इलाम नगरपालिका–१० जौबारीमा फेला परेका छन् ।
केही साता यता मानसिक सन्तुलन विग्रदै गएपछि उनको व्यवहारमा परिवर्तन हुँदै आएको थियो । आइतबार अपरान्ह ४ बजे घरबाट हराएका उनी नजिकैको खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएका उनी साँझसम्म नफर्किएपछि खोजी शुरु गरिएको भतिज गोपाल तिम्सिनाले बताए ।
प्रहरीको सहयोगमा परिवारले खोजी गर्दा मध्यरात १२ बजे गोदकको जौबारीमा फेला परेको उनले बताए । दुर्गाप्रसाद अपरान्ह ५ बजे गोदकको गट्टा गोलाईबाट फिक्कलतिर हातमा चप्पल बोकेर हिंडेको स्थानीयले देखेका थिए ।
सोही आधारमा उनको खोजी मेची राजमार्ग आसपासमा गरिएको थियो । घट्टाबाट करिब १० किलोमिटर पर रहेको जौवारीमा तीनघरे प्रहरी चौकीले फेला पारेको हो ।
‘मेची राजमार्गको जौवारी भञ्ज्याङमा हिंडिरहेको अवस्थामा प्रहरीले फेला पारेर राखिदिनुभएको रहेछ । विहान फोन आएपछि अहिले हामी लिन प्रहरी चौकी आएका छौंं’ गोपालले भने
पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका छन् । परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको हो ।
केही दिन देखि दुर्गाप्रसादको बोलीचाली र व्यवहार असहज भन्दै गएको छ । उनी तिब्र मानसिक बिरामी झै देखिएका छन् । फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेका छन् ।
उनले अहिलेसम्म पाउनुपर्ने क्षतिपुर्ती समेत पाएका छैनन् । कलकत्ता उच्च अदालतले परिवारले माग गरे क्षतिपुर्ती दिन गत मार्च २२ मा वंगाल सरकारलाई आदेश दिएको थियो । न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र अनिरुद्र रोयको इजलासले दुर्गाप्रसादको आर्थिक तथा सामाजिक अवस्थाका कारण उनलाई क्षतिपूर्ति दिनु जायज हुने ठहर गरेको थियो ।