arrow

पदमुक्त भएपछि डा.अहिराजले भने: प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
rajesh ahiraj.jpg

काठमाडौं । प्रदेश २ प्रमुखबाट पदमुक्त भएपछि डा.राजेश अहिराजले सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेपछि मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै डा.अहिराजले अवसर दिने सरकार र साथ दिने कर्मचारीहरुलाई विशेष धन्यवाद भनेका छन् ।

प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएकोमा उनले सबैलाई धन्यवाद दिएका हुन् ।

अभाव, अपराध र अतिवादको चपेटामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो रहेको औंल्याउँदै डा.अहिराजले सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको विरूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।’

राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले निजामती माथि विश्वास गर्नुपर्ने बताउँदै अहिराजले निजामतीको विकल्पमा वा निजामतीलाई मानमर्दन गर्ने गरी गठन गरिने निजी सचिवालय सैद्धान्तिक रूपमा राज्यकै दोहन हुने बताएका छन् ।

‘राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अब्बल काम गर्न सकिने कुरा प्रदेश नं.२ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु । यसैगरी, प्रदेश नं। २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा लेखेका छन् ।

उनले प्रदेश प्रमुखको पद कुनै दलको नहुने र समग्र देशको हुने भन्दै यसलाई दलीयताभन्दा पनि समभावमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दुमा राखेर आफूले कार्यसम्पादन गरेको बताएका छन् ।

सरकारले प्रदेश २ को नयाँ प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेसँगै डा.अहिराजको पद गुमेको थियो । उनले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने र सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी फिर्ता पठाउने घोषणासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ