arrow

सरकारको काम भनेको एमाले विभाजन गर्ने मात्रै भयो : तामाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
sherbahadur-tamang.JPG

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाएका छन् । उनले भने,‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले विभाजन गर्नको लागि ल्याईएको अध्यादेश भन्दै यसलाई एमालेका आम नेता तथा कार्यकर्ताले अस्विकार गर्ने बताए । उनले भने,‘अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान छैन् । कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन् । खोप आपूर्ति भएको छैन् । संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला । तर, त्योसम्बन्धी सरकारको कुनै ध्यान छैन् । जम्माजम्मी यो सरकारको काम भनेको एमाले विभाजन गर्ने काममात्रै भयो । हाम्रै साथीहरु पनि हिसाबकिताब गरेर २० प्रतिशत भए त पार्टी फुटाउन संख्या पुग्छ होला भनेर लाग्नुभयो । यो गलत हो ।’

उनले माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गरे । उनले भने,‘देशभरिका कोही पनि कार्यकर्ता पार्टी विभाजनको पक्षमा लाग्ने छैनन् । माधवकुमार नेपाल २० प्रतिशत संख्या बोकेर जानुहुन्छ भने कोशिस पनि नपुग्ला, कार्यकर्ता र मतदातामा जाँदा उहाँहरु जिरोमा परिणत हुनुहुनेछ । कोही पनि टुटफुट र विभाजनको पक्षमा नलागौं ।’

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ईतिहास नै टुटफुटको रहेको सुनाए । उनले भने,‘उहाँले २०५८ सालमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस विभाजन गर्नुभयो । सांसदरुको किनबेच गर्ने काम गर्नुभयो । संसदीय व्यवस्थालाई बद्नाम गर्नुभयो । देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम हुनेछ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो भने लोकतन्त्रको विरोधमा लाग्नेलाई के भन्नुहुन्छ ? हिजो केपी ओलीले रक्षा गरेन भने आरोप लगाए होला । तर, यही नेकपा एमालेले संविधानको रक्षा गर्छ ।’

उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने पनि माग गरेका छन् । उनले भने,‘नेपालीहरुलाई अफगानिस्तानबाट तदारुकता देखाओस । हिजो ओली सरकारले आफ्नो ध्वजावाहक जहाज पठाएर नेपालीहरुलाई उद्धार गरेको थियो । कोही पनि नेपाली जनताको त्यहाँ ज्यान नजाओस । नेपाल सरकारको तर्फबाट छिटोभन्दा छिटो उद्धार गरियोस । प्लेन पठाओस ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ