- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । प्रदेश नम्बर दुईका नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख मिश्रले अब शान्ति र सुरक्षाका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।
बुधबार जनकपुरधाम आएका मिश्रले मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । मिश्रलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले विमानस्थलमा स्वागत गरेका थिए ।
आफू नेपाली काङ्ग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भए पनि अब कुनै पार्टीको व्यक्ति नभएको जानकारी गराए। अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन। अब समग्र देशका लागि काम गर्छु।’ प्रदेश प्रमुख मिश्रको स्वागतको क्रममा विमानस्थलमा अत्यधिक सङ्ख्यामा भीड बढेपछि सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।
मिश्रलाई सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । मङ्गलवार साँझ नै प्रदेश प्रमुख मिश्रले शपथ ग्रहण गरेको थियो ।
मिश्र करिब ६ दशकदेखि राजनीतिमा समर्पित ९ कक्षामा पढ्दा लोकतान्त्रिक सङ्घर्षमा होमिएका थिए । बिपी कोइरालाका समकक्षी एवम् पहिलो जन निर्वाचित सरकारका मन्त्री रहेका बुबा राम नारायण मिश्र २०१९ सालमा जेल परेपछि हरिशंकर मिश्रले लोकतान्त्रिक व्यवस्था स्थापनाको अठोट गरेका थिए ।
लोकतान्त्रिक आन्दोलनमा लागेका हरि शंकरलाई पञ्चायत शासकहरूले बाल्यावस्था मै करिब साढे दुई महिना जेल हालेका थिए।