झलनाथ निकट नेता कार्यकर्ताहरु अझै केही समय एमालेमै रहने
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
865
Shares
इलाम । एमालेका पूर्व अध्यक्ष एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालनिकट मानिएका इलामका एमाले नेताहरुले १० बुँदे सहमति पालना र एकताका लागि भइरहेको प्रयासको प्रतिक्षा गर्ने निष्कर्षमा पुगेका छन् ।
एमालेका दोस्रो तहका नेताहरुले गरिरहेको एकता प्रयासको परिणाम पर्खिने निर्णय गर्दै १० बुँदे सहमति पालनाका लागि आग्रह गरेका छन् । सूर्योदय नगरपालिकामा शनिबार भएको भेलाले माधव नेपाल नेतृत्वमा दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) मा तत्काल समाहित हुनेभन्दा पनि एमालेमै रहन प्रयास गर्नेगरी अघि बढ्ने निर्णय गरेको हो । यो समूहका जिल्ला अध्यक्ष भक्त केसीले पार्टीलाई एकढिक्का राखेरै अघि बढ्नेगरी भेलाले निर्णय गरेको जानकारी दिए ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच केन्द्रीय तहमा भएको १० बुँदे सहमति अक्षरशः पालना हुनुपर्ने बताए । भेलामा सहभागी नेताहरुले अध्यक्ष ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधानविरोधी कार्य भन्दै आलोचना गरे । ओलीले पार्टीलाई सही बाटोमा हिँडाउन नसकेको भन्दै उनीहरुले पार्टी नेतृत्व सच्चिनुपर्ने बताए ।
भेलामा १ नम्बर प्रदेश सांसद खिनु लङवा लिम्बू, सूर्योदय नगर प्रमुख रणबहादुर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र पूर्वसांसद मणिकुमार लिम्बूलगायतका नेता सहभागी थिए ।
जिल्लामा माधव नेपाल पक्ष भनिएका एमाले नेता-कार्यकर्ता खनालसँग नजिक छन् । यसअघि खनालले पार्टी पुनर्गठनको विकल्प नभएको बताएपनि जिल्लामा उनीनिकटका नेताले अहिल्यै खनालझैं निर्णय भने गरिसकेका छैनन् । पार्टी र नेतृत्व सच्चिए एमालेमै रहने उनीहरुले बताइरहेका छन् ।
भारतमा उपचाररत खनालले माधव नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) प्रति समर्थन रहेको जनाएपछि गृह जिल्लाका आफ्ना नेता कार्यकर्ताबाट यस्तो प्रतिक्रिया आएको हो । नवठित पार्टीमा खनाल वरिष्ठ नेताका रुपमा प्रस्ताव गरिएको छ ।