arrow

तेलको लोभमा अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको खिल्ली उडायो: झलनाथ खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
jhalnath-khanal-11-21.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको पछिल्लो सैन्य आक्रमणको कडा शब्दमा निन्दा र भत्र्सना गरेका छन् । उनले यस घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको खुल्ला उल्लङ्घन भन्दै 'राज्य आतङ्कवाद' को संज्ञा दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले जारी गरेको प्रेस वक्तव्यमा अमेरिकी ट्रम्प प्रशासनले 'डेल्टा फोर्स' र करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामा वितण्डा मच्चाएको उल्लेख छ । उनले यस आक्रमणमा निर्दोष सर्वसाधारण र सैनिकहरूको ज्यान गएको, देशको सैन्य संरचना ध्वस्त पारिएको र निर्वाचित राष्ट्रपति निकोलास मादुरो तथा प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

खनालले अमेरिकी हस्तक्षेपको भित्री कारण भेनेजुएलामा रहेको विश्वकै ठूलो तेल भण्डारमाथिको आँखा रहेको दाबी गरेका छन् । "तेल स्रोत कब्जा गर्ने अमेरिकी स्वार्थका अगाडि मादुरो सरकार बाधक बनेपछि 'लागुऔषध तस्करी'को झुटो बहाना बनाएर यो बर्बर आक्रमण र अपहरण गरिएको हो," वक्तव्यमा भनिएको छ । उनले यसलाई प्रभुत्ववादी दादागिरी र अमेरिकी राज्य आतङ्कवादको पराकाष्ठा बताएका छन् ।

अमेरिकी साम्राज्यवादी आक्रमणविरुद्ध भेनेजुएलाका जनता दृढताका साथ उभिएको भन्दै खनालले विश्वका न्यायप्रेमी राष्ट्र, जनता र संयुक्त राष्ट्रसङ्घसमेत यसको विरोधमा रहेको उल्लेख गरे । उनले अमेरिकाभित्रै पनि न्यायप्रेमी जनता सडकमा उत्रिएको भन्दै भेनेजुएली जनताको प्रतिरोधप्रति नेपाली जनताको तर्फबाट पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रपति मादुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गर्दै संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसक र गैरकानुनी आक्रमणविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । साना र कमजोर राष्ट्रको स्वतन्त्रता तथा विश्व शान्तिको रक्षाका लागि विश्व समुदाय एकताबद्ध हुनुपर्नेमा उनले विशेष जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ