झलनाथको दाबी: कम्युनिष्ट आन्दोलन सिद्ध्याउन मदन भण्डारीको हत्या गरियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
355
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर र निस्तेज पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको ठुलो षड्यन्त्र भएको दाबी गरेका छन्।
आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो दाबी गरेका हुन्।
दासढुङ्गा दुर्घटनाप्रति लक्षित गर्दै उनले नेता भण्डारी र जीवराज आश्रितमाथि रचिएको त्यो घटना षड्यन्त्रपूर्ण हत्या नै भएको कुरा जगजाहेर भए पनि अहिलेसम्म दोषीलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न नसकिएको यथार्थ स्वीकार गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "मदन भण्डारीमाथि जुन हिसाबले हत्याको षड्यन्त्र रचियो, त्यो नेपालको कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको सुनियोजित प्रपञ्च हो, जुन षड्यन्त्र आजको दिनमा पनि विभिन्न रूपमा जारी छ।"
नेता खनालले मुलुकमा अहिले पनि पूँजीवादी दलालहरूविरुद्धको वैचारिक र राजनीतिक लडाइँ जारी रहेको उल्लेख गरे। बदलिएको राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनको रक्षा र देशको समृद्धिका लागि छरिएर रहेका सबै वामपन्थी शक्तिहरूच बिचको एकता अब अपरिहार्य आवश्यकता भइसकेको उनको भनाइ थियो।