arrow

कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
Corona-death-covid-nepal.jpg
फाइल तस्विर।

काभ्रेपलान्चोक। पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ।नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। 

हालै सम्पन्न नवौँ नगरसभाले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो। यसका लागि नगरपालिकाले मृतकको कागजातसहित स्वास्थ्य शाखामा सम्पर्क गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । “नगरसभामा निर्णय भएअनुसार कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गर्दै छौँ”, नगरप्रमुख भीम न्यौपानेले भने । 

उनका अनुसार आजदेखि सम्पर्कमा आएका मृतकको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । हाल नगरपालिका भित्रका १२ महिलासहित ४६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पनौती नगरपालिकाका सबै सङ्क्रमित होम आइसोलेसनमै रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । 

नगरपालिकाले आउँदो केही महिनामा कोरोना भाइरस सङ्क्रमणको दर बालबालिकामा उच्च हुने प्रक्षेपण गरेको छ । सोही अनुरूप सङ्क्रमित बालबालिका लागि हाललाई ३० शय्याको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरेको छ । स्थानीय रोटरी नेपालसँगको सहकार्यमा सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप वडा नं ४ कार्यालयमा आइसोलेसन वार्ड बनाएको नगरप्रमुख न्यौपानेले बताए । 

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेसन कक्ष व्यवस्थित गरेको थियो । काभ्रेपलान्चोकमा हालसम्म १४ हजार ६३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । तीमध्ये १८७ जनाको मृत्यु भएको छ । हालसम्म कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ४३२ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ८५ जना सङ्क्रमणमुक्त भएका छन् । 

काभ्रेपलान्चोकमा हाल ४४४ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२६, बनेपामा १०४, पाँचखालमा ५१, नमोबुद्धमा ५४, मण्डनदेउपुरमा नौ तथा रोशी गाउँपालिकामा १०, चौँरी देउरालीमा एक,  तेमालमा एक, भुम्लु १५, खानीखोलामा दुई, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा दुई रहेको केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ