arrow

देशका विभिन्न स्थानमा पहिरो तथा बाढी : कहाँ कति क्षति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
landslide-pahiro-road-block.jpg

काठमाडौं ।  देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
कहाँ कति क्षति ?
ताप्लेजुङ-आठराई त्रिवेणी गाउँपालिका-१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ । 

कैलाली-चुरे गाउँपालिका-५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका-४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँपालिका-७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक समन्वय एवं उद्धार कार्य भइरहेको छ । 

नवलपरासी (पश्चिम)-तुरिया खोला र झरै खोलामा शुक्रबार आएको बाढीले परासी बजारलगायतका बस्ती तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् । 

रुपन्देही-अविरल वर्षाले शुक्रबार आएको बाढीले तिलोत्तमा नगरपालिका-१४ भुडकेपानीमा तीन घर,  ओमसतिया गाउँपालिका-१ कोटागाउँमा एक घर, बुटवल उपमहानगरपालिका-१२ सिर्जना टोल बस्ने हरि ढकालको एक घर र  कञ्चनगाउँपालिका-३ स्थित १० घरमा क्षति भएको छ । 

यस्तै देवदह नगरपालिका-३ वसन्तपुरस्थित तिलोत्तमा नगरपालिका-८ बस्ने अमृत थापाको यसकेसी बाख्राफार्म रोहिणी खोलामा आएको बाढीले डुबाउँदा ४३ वटा ब्राखा मरेका छन् ।

कञ्चनपुर-अविरल वर्षाका कारण कृष्णपुर नगरपालिका-५ पवित्रा बस्तीस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसैगरी सोही नगरपालिका-५ बेलकुण्डी सिविरस्थित मछली नदीमा आएको बाढीले १२ घर डुबान परेका छन् भने सोही नगरपालिका-२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा इँटा उद्योगको रु पाँच लाख ४० हजार बराबरको चार कठ्ठा जमिन कटान गरेको छ । 

महोत्तरी-बलवान गरपालिका-४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९०० घरमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धारकार्य गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ