arrow

पानीले विद्यालय डुबाउँदा विद्यार्थीलाई सकस

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
student-rain-83-2-29.jpg

हुम्ला । सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय, उनापानीमा बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण विद्यालयका कक्षाकोठा जलमग्न भएका छन्। कक्षाभित्र पानी भरिएपछि विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको वडा अध्यक्ष अकिल कार्की ले जानकारी दिए।

उनका अनुसार दिउँसो करिब १ बजेपछि परेको भारी वर्षासँगै विद्यालय भवनभित्र पानी पस्दा अधिकांश कक्षाकोठा जलमग्न बनेका थिए। ६ कोठे विद्यालयको सबै कक्षाकोठाभित्र पानी भरिएपछि विद्यार्थीहरू पढाइ छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका थिए।

विद्यालयको कमजोर भौतिक संरचना र प्रभावकारी पानी निकासको अभावका कारण बर्सेनि यस्ता समस्या दोहोरिने गरेको स्थानीयको भनाइ छ। वर्षाको समयमा कक्षाकोठाभित्रै पानी पस्ने समस्याले विद्यार्थीहरूको नियमित अध्ययनमा गम्भीर असर पार्दै आएको छ।

स्थानीय अभिभावक तथा सरोकारवालाले विद्यालय भवनको मर्मत, सुरक्षित संरचना निर्माण र उचित पानी निकास व्यवस्थापनका लागि सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन्। उनीहरूले दुर्गम क्षेत्रका बालबालिकाले आधारभूत शैक्षिक वातावरणसमेत नपाउनु दुःखद भएको बताएका छन्।

“बालबालिकाको भविष्य निर्माण हुने कक्षाकोठा नै पानीले भरिँदा गुणस्तरीय शिक्षाको अपेक्षा कसरी गर्न सकिन्छ ?” भन्दै स्थानीयवासीले सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
विद्यालयभित्र पानी भरिएर पठनपाठन प्रभावित भएपछि उनापानीका विद्यार्थीहरू अहिले सुरक्षित र व्यवस्थित शैक्षिक वातावरणको प्रतीक्षामा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ