- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हाल नेपालमा जारी रहेको मनसुनी वायुको प्रभाव जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। सोही कारण सोमबारसम्मै वर्षा हुने महाशाखाले जनाएको छ ।
मौसममा सुधार भने शनिबारदेखि नै हुँदै जाने बताएको महाशाखाले शनिबार बिहान ६ बजे बुलेटिन सार्वजनिक गर्दै सोमबारसम्मै वर्षा हुने पूर्वानुमान गरेको हो । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । सबै प्रदेशका केही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल बागमती प्रदेशमा उपत्यकासहित सिन्धुपाल्चोक आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १ को झापाका केही स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै प्रदेश २ का धनुषा, सिराहा लगायतमा वर्षा भइरहेको छ । गण्डकी प्रदेशका लमजुङ बागलुङ र गोर्खामा हल्का वर्षा भइरहेको छ । त्यस्तै बझाङ बाजुरा, हुम्ला, बैतडीमा वर्षा भइरहेको छ ।
मौसमविद् अर्यालले १२–१२ घण्टाको स्थिति हेर्दा मौसममा क्रमिक सुधार हुँदै जाने देखिएको बताए । पछिल्लो १२ घण्टामा वर्षाको अनुपात कम हुँदै गएको छ । उनले यो वर्ष तुलनात्मक रुपमा बढी नै वर्षा भएको बताएका छन् ।
तत्काल वर्षा रोकिने अवस्था नरहेको पनि उनले बताए । मनसुन आगामी सेप्टेम्बर २३ सम्म रहने भएकाले अझै धेरै पानी पर्न सक्ने पनि उनले बताए ।
काठमाडौं उपत्यकामा पछिल्लो १२ घण्टामा १३.२ मिलिमिटर वर्षा भएको छ । शनिबार घाम लाग्ने सम्भावना कम रहेको छ । उनले दिउँसो १२–१ बजेतिर घाम लाग्न सक्ने बताए ।
अन्य क्षेत्रमा दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी–धेरै भारी र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबारको पूर्वानुमान
दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारीरधेरै भारी सम्भावना रहेको छ।
राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबारको पूर्वानुमान
दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी–धेरै भारी सम्भावना रहेको छ।
राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।