पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, पश्चिम तराईमा भने अझै तातो लहर
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
217
Shares
काठमाडौँ । नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुको प्रभाव क्रमशः बलियो बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ। देशका बाँकी पश्चिमी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ। अहिले कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्र र कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश, बागमती र गण्डकीको तराईमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। यस्तै कोशीको तराईका थोरै स्थान र मधेश, बागमती तथा गण्डकीको तराईका एक–दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ। मनसुन नपुगेका लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानहरूमा आज पनि अत्यधिक गर्मी र तातो लहर (लु) चल्नेछ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि दिनभर तातो हावा चल्ने सम्भावना छ।
राति कोशी, बागमती र गण्डकीको पहाडी तथा हिमाली भूभाग र कोशीको तराईमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश, बागमती र गण्डकीको तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने पश्चिमी तराईमा मौसम सफा रहनेछ।
राति कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशीको तराई र मधेश प्रदेशको तराईका एक–दुई स्थानमा पनि राति पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वर्षा र तातो लहर दुवैको प्रभाव रहने भएकाले मौसम अनुसार आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।