arrow

जिल्ला अदालतको भवन निर्माणार्थ जग्गा प्राप्त गर्न समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
courts.jpeg
फाइल तस्बिर

गण्डकी। उच्च अदालत बार एसोसिएसन पोखरा र जिल्ला अदालत बार एसोसिएसन कास्कीको संयुक्त बैठकले जिल्ला अदालतको भवन निर्माणार्थ जग्गाको खोजी गरी प्राप्त गर्न समिति गठन गरेको छ।

हालै पोखरामा सम्पन्न बैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठित समितिका सदस्यमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, सदस्य कल्पना भण्डारी,  उच्च अदालत बार एसोसिएसनका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मुक्ति सापकोटा, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का अध्यक्ष विष्णुप्रसाद मरासिनी, प्रोग्रेसिभ लयर्स एसोसिएसन (पिएलए) कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहेका छन्।

बैठकमा जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि रु दुई करोड बजेट स्वीकृत भएको जानकारी दिए। करिब ६० वर्ष अगाडि बनेको हालको भवन जीर्ण अवस्थामा रहेको र सेवाग्राहीको चाप बढ्दै गएका कारण इजलास बढाउनुपर्ने तर ठाउँको अपुग भएकाले कार्यसम्पादनमा कठिनाइ भएको उनले बताए।

बैठकका सहभागीले अब बन्ने अदालतको भवन करिब ५० वर्षपछिको आवश्यकतालाई मध्यनजर गरी संरचनाको प्रस्ताव गरिनुपर्नेमा जोड दिए। हाल अदालत रहेको पोखरा महानगरपालिका–६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिर बाटो र कुलोको मापदण्ड कटाउँदा संरचना बनाउने जग्गा अपुग हुने हुँदा आवश्यक जग्गाको खोजी गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको थियो।

पोखरामा रहेका सरकारी जग्गाको खोजी गरी आवश्यक जग्गा प्राप्त गर्न समिति क्रियाशील बन्ने उच्च अदालत बार एसोसिएसनका अध्यक्ष पौडेलले बताए। कास्की जिल्ला अदालतमा हाल सात इजलासबाट सेवा प्रवाह भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ