arrow

कोभिड१९ महामारी: कर्णालीमा मृत्युदर र गण्डकीमा संक्रमणदर उच्च, अन्य प्रदेशको अवस्था के छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
infograph-covid-province.jpg

काठमाडौं । देशभर ८ लाख भन्दा मानिस कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । यीमध्ये दश हजार सात सय भन्दा बढीले ज्यान गुमाएका छन्, भने ७ लाख १२ हजार भन्दा बढी मानिस सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा कोभिड-१९बाट सङ्क्रमित हुने सबैभन्दा धेरै मानिस बाग्मती प्रदेशमा छन् । यद्यपि, सबै भन्दा उच्च सङ्क्रमण भने गण्डकी प्रदेशमा देखिएको छ।

गण्डकीमा परीक्षण गरिएकामध्ये २९.०७ प्रतिशतमा सङ्क्रमण देखिएको छ । बाग्मती प्रदेशमा सङ्क्रमण दर समेत कम देखिएको छ । बाग्मती प्रदेशमा परीक्षण गरिएकामध्ये १६.७८ प्रतिशतमा काेभिड-१९काे सङ्क्रमण पुष्टि भएको छ।

यस्तै कोभिड१९को मृत्युदर सबैभन्दा उच्च कर्णाली प्रदेशमा देखिएको छ भने सबैभन्दा कम बाग्मती प्रदेशमा देखिएको छ ।

बाग्मती प्रदेशमा मृत्यु दर १.१८ प्रतिशत देखिएको छ भने, कर्णालीमा २.०८ प्रतिशत देखिएको छ । स्वास्थ्य मन्त्रालयको साउन १३ गतेसम्मको तथ्याङ्क अनुसार मृत्यु दर २ प्रतिशत नाघ्ने एक मात्र प्रदेश कर्णाली नै हो ।

कुन प्रदेशको अवस्था के छ ?

भदौ १३ गतेसम्मको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार:

सुदूरपश्चिम प्रदेशमा हालसम्म १ लाख ८६ हजार ४ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ३७ हजार ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३६ हजार १ सय ९० जना निको भइसकेका छन् भने, ४ सय ५७ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा कोभिड१९को मृत्युदर १.२१ प्रतिशत देखिएको छ ।

कर्णाली प्रदेशमा १ लाख २५ हजार ५ सय ४ जनाको नमुना परीक्षण गरिएकोमा २१ हजार ५ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये १९ हजार ६ सय ९१ जना निको भइसकेका छन्, भने ४ सय ४८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा कोभिड१९को मृत्युदर २.०८ प्रतिशत देखिएको छ ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख ९१ हजार ६  सय ८६ जनाको नमुना परीक्षण भएको छ । यीमध्ये ९४ हजार ४ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ८९ हजार ४ सय ४१ जना निको भइसकेका छन् भने, १ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा कोभिड१९को मृत्युदर १.७७ प्रतिशत देखिएको छ ।

गण्डकी प्रदेशमा २ लाख ५३ हजार ७ सय ३० जनाको नमुना परीक्षण भएको छ । यीमध्ये ७३ हजार ७ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ६४ हजार ३ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् भने,१ हजार २ सय ५० जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा कोभिड१९को मृत्युदर १.६९ प्रतिशत देखिएको छ ।

बाग्मती प्रदेशमा हालसम्म २३ लाख १० हजार ३ सय ७१ जनाको नमुना परीक्षण गरिएको छ । यसमध्ये ३ लाख ८७ हजार ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित भएकामध्ये ३ लाख ६८ हजार ६ सय १८ जना निको भइसकेका छन् । बाग्मती प्रदेशमा ४ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशमा कोभिड१९ को मृत्युदर १.१८ प्रतिशत देखिएको छ ।

प्रदेश २ मा १ लाख ७२ हजार ७ सय ९० जनाको नमुना परीक्षण गरिएको छ । यसमध्ये ४५ हजार ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ४३ हजार ४ सय ३९ जना निको भइसकेका छन्, भने ७ सय ५७ जनाको मृत्यु भएको छ । प्रदेश २ मा कोभिड१९को मृत्युदर १.६६ प्रतिशत देखिएको छ ।

प्रदेश १ मा हालसम्म ४ लाख ५३ हजार ६ सय ४७ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये ९८ हजार ४ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ९० हजार ९ सय ६० जना निको भइसकेका छन् भने, १ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा कोभिड१९को मृत्युदर १.५५ प्रतिशत देखिएको छ ।



नयाँ