arrow

नवलपुरको पहाडी भेग जोड्ने सबै सडक पहिरोले अवरुद्ध : दैनिक उपभोग्य सामानको अभाव 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ भदौ १५ मंगलबार
pahiro-nawalpur.JPG

कावासोती । विगत केही दिन भएको अविरल बर्सात पछि खसेको पहिरोले नवलपुरको पहाडी क्षेत्रलाई मुख्य राजमार्ग र सदरमुकाम सँग जोडने सबै सडक अवरुद्ध भएका छन् । पाँच दिनसम्म परेको अविरल वर्षाले गैँडाकोट, दलदले, कावासोती, झ्यालबास, अरुणखोला दम्किबास हुँदै जिल्लाका पहाडी क्षेत्र जोडने सबै जसो सडकका अधिकांश स्थानमा पहिरो जाँदा पहाडी क्षेत्र यातायात सम्पर्क बाट विच्छेद भएको हो ।

यातायात सम्पर्क विच्छेद भए पछि पहाडी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको अभाव सुरु हुन लागेको छ भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवन सम्म पुग्नु पर्ने बिरामीहरू  समस्यामा परेका छन् ।  

बिहीबार देखि परेको अविरल वर्षाको कारणले  ठाउँ ठाउँमा पहिरो खस्दा एक वाड बाट अर्को वार्ड हिँडेर जान पनि गाह्रो भएको बौदीकाली वडा नं १ का अध्यक्ष टोलनाथ कँडेलले बताए । अत्यावश्यक कामका लागि  पैदल यात्रा गरेर सदरमुकाम आउन र फर्किन ठुलो जोखिम मोल्नु पर्ने अवस्था रहेको अध्यक्ष कँडेल बताउछ्न् । "सडक बन्द भए पछि पहाडी क्षेत्रका बजारमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सिकिस्त बिरामीलाई अस्पताल पुर्‍याउन नसकिने अवस्था छ," कँडेलले भने ।

काली गण्डकी कोरिडोरको गैँडाकोट- बुलिङ्गटार सडकको दर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेको छ । त्यसै गरी दलदले-डेढगाउँ र दलदले बुलिङ्गटार सडक पनि पहिरो खसेर पुर्ण रुपमा आवत जावत गर्न बन्द भएको सेतिनाग मा.विका प्रधानाध्यापक  खिम सुस्लिङ्गले बताए । "यातायात पुर्णरुपमा अवरुद्ध छ, ठाउँ ठाउँमा पहिरो खसेर र साना खोलाहरूमा बाढी आएर हिँडेर एक ठाउँ देखि अर्को ठाउँ जान कठिन छ," सुस्लिङ्गले भने । पहाडी क्षेत्रका सबै जसो बाटोमा पहिरो खसे पछि कोरोना सङ्क्रमण कम भएर खुलेका बुलिङ्गटारका विद्यालयहरूमा पुग्न विद्यार्थीहरूले पनि जोखिम मोल्नु परेको समेत  सुस्लिङले बताए । 

लगातार परेको वर्षाको कारण सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्न नसकिएको बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीले बताए । पानी रोकिन साथ पहिरो पन्छाएर सडक खोल्ने काम गरिने बस्ताकोटी बताउछ्न् ।

वर्षा याममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या हरेक वर्ष हुने गरेको बताउँदै गण्डकी प्रदेश सभा सदस्य एवं  काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेले जिल्लाको पहाडी क्षेत्रलाई मुख्य राजमार्ग सँग जोडनका  कालोपत्रे सडक तत्काल आवश्यक भएको बताए ।  "मुख्य राजमार्ग जोडने पहाडी क्षेत्रका सडकहरूको स्तर उन्नति गरेर मात्रै हुँदैन बलियो सडक चाहिन्छ, यसका लागि प्रदेश र सङ्घीय सरकार सँग आवश्यक समन्वय गरेर काम अगाडि बढेको छ," लामिछानेले भने । अवरुद्ध सडकको पहिरो पन्छाएर तत्काल सडक सुचारु गर्न समेत लामिछानेले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ