- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेको गढ मानिएको इलाममा नेकपा (एकिकृत समाजवादी)ले आफ्नो उपस्थिति देखाउन थालेको छ । एकिकृत समाजवादीको उपस्थितिले दुई प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला इलाममा संविधान सभा अध्यक्ष तथा एमालेका प्रभावशाली नेता सुवासचन्द्र नेम्बाङलाई प्रत्यक्ष असर पुर्याएको छ ।
समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई सहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेपछि नेम्बाङ्गलाई राजनीतिक रुपमा धक्का लागेको छ । ५६ जनाले सोमबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेपछि एकीकृत समाजवादीले आफ्नो उपस्थिति जनाएको हो ।
सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुखबाहेकका ४३ जनाले समाजवादीमा नै रहने गरी सनाखत गरेका छन् । देउमार्ई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्य समेत खनाखत गर्ने ५६ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । खनाखत गर्नेहरुको पूर्ण विवरण भने आइसकेको छैन । यसअघिनै प्रदेश सांसद खिनु लङ्वाले समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छिन् ।
यसअघि नेकपा(एमाले) इलाम-काठमाडौ सम्पर्क मन्च नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने निर्णय गरिसकेको छ । मन्चका अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य प्रेम कुमार खनाल, युवा संघ नेपालका उपमहासचिव राई र प्रदेश नम्बर एकका सदस्य दिपक पौडेल लगायत ५१ जना सदस्यको उपस्थितिमा सम्पन्न सोमबार बसेको बैठकले सर्वसहमतिमा नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको मन्चका सचिव विकास रेग्मीले जानकारी दिए ।
समाजवादीले आफ्नो उपस्थिति देखाउन थालेसँगै ‘हेभी वेट’ नेताको पहिचान बनाएका झलनाथ खनाल र सुभाषचन्द्र नेम्बाङ अन्ततः विधिवत रुपमा विभाजित भएका छन् । पटक पटकका निर्वाचनमा इलाम क्षेत्र नम्बर १ र २ बाट विजयी हुँदै आएका उनीहरुका कार्यकर्ता छिन्नभिन्नको अवस्थामा पुगेका हुन् ।
विगतका राष्ट्रिय निर्वाचनहरुमा बर्चस्व कायम राख्दै आएका खनाल र नेम्बाङ पार्टीमा देखिएको विभाजनपछि आफ्नो साख जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । झापा आन्दोलनताका सँगै मैदानमा उत्रिएर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका नेताद्वय अन्ततः चार दशकपछि दुई ध्रुवमा विभाजित भएका हुन् ।