arrow

'ऐना'का सहयात्रीलाई सम्मान, दोस्रो सिजनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
Aaina-tv-janak.jpg

काठमाडौं। द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम 'ऐना'को पहिलो सिजन उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड प्रसारण भएका थिए । आइतबार एक कार्यक्रम आयोजना गरी ऐनाको प्रोडक्सन कम्पनी द होराइजन मल्टिमिडियाले प्रायोजक र टिमका सदस्यलाई 'टोकन अफ लभ' र प्रमाणपत्र वितरण गर्‍यो । 

कार्यक्रममा ऐनाको शीर्षक प्रायोजक ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग-वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ऐनाजस्तो सामाजिक रूपान्तरणको अभियान बोकेको कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व लागेको बताए । ढकालले आगामी दिनमा पनि सामाजिक मुद्दाहरू उजागर गर्ने ऐनाको प्रयत्नमा आफूहरू साथै रहने प्रतिबद्धतासमेत जनाए । 

ऐनाको अर्को प्रायोजक चौधरी फाउन्डेसनकी जेनेरल मेनेजर मेरिना रञ्जितले ऐनाबाट प्रायोजनका लागि प्रस्ताव आउँदा कार्यक्रम सफल हुन्छ कि हुँदैन भन्ने शङ्का लागे पनि ऐनाले त्यो शङ्का पहिलो एपिसोडबाट मेट्न सफल भएको बताइन् । राति ९ बजेपछि नेपाली टेलिभिजनमा के हेर्ने भन्ने अन्योलमा रहेका दर्शकको चाहनालाई ऐनाले परिपूर्ति गरिदिएको रञ्जितको भनाइ थियो ।

यसैगरी, माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एक जना नेताले सञ्चालन गर्ने कार्यक्रमले के प्रभाव पार्ला र भन्ने लागे पनि कार्यक्रम ऐनाले विशुद्ध सामाजिक मुद्दामा गहन छाप छोड्न सफल भएको बताए । 

कार्यक्रममा राष्ट्रिय सङ्घको महिला विरुद्धको विभेद अन्त्य गर्ने महासन्धि 'सीईडीएडब्ल्यू' की निर्वाचित सदस्य वन्दना राणाले कार्यक्रम 'ऐना'ले नेपाली टेलिभिजनमा छुट्टै छाप छोडेको बताइन् । राणाले आफूले टेलिभिजनमा काम गर्दाताका सामाजिक विषयमाथि कार्यक्रम निर्माण गर्न सहज नभएको अनुभव सुनाइन् । उनले सामाजिक मुद्दामा काम गर्नासाथ 'डलरको खेती' भन्ने मानसिकताले कतिपय राम्रो काम गरिरहेकाहरूलाई पनि निरुत्साहित गर्ने गरेको बताइन् । 'समाज रूपान्तरणको सवालमा सबैको साथ र सहयोग चाहिन्छ', राणाले भनिन्, 'निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई खुलेर सहयोग गर्नुपर्छ । ताकि समाज रूपान्तरणमा साथसाथै हिँड्न सकियोस् ।' राणाले ऐनालाई आगामी दिनमा अझै अनुसन्धानमूलक ढङ्गले कार्यक्रम ल्याउन शुभकामनासमेत दिइन् । उनले ऐनाजस्तो कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले कोभिड-१९ को महामारीको विषम परिस्थितिमा समेत विज्ञापन दिएर ऐनालाई सफल बनाउन योगदान दिएको भन्दै विज्ञापनदातालाई धन्यवाद दिए । उनले ऐनाको दोस्रो सिजनमा समेत निजी क्षेत्रबाट यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए । 

ऐनाका प्रस्तोता विश्वप्रकाश शर्माले कार्यक्रम ऐना मार्फत देशका विभिन्न ठाउँमा पीडितहरूका घरघरमा पुगेर धेरै अनुभव बटुल्न पाएको बताए । उनले ऐनाको अवधारणासहित कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव आउँदा नै यो एउटा आफ्नो लागि पनि नौलो अनुभव बटुल्ने मौका हुने ठानेर स्वीकार गरेको बताए । उनले देश विकासको कुरा गर्दै गर्दा मान्छेका कुरा गर्न भुल्न नहुने बताए । 

ऐनाका कार्यकारी निर्माता जनक पौड्यालले कोभिड महामारीको समयमा टिमका सबै सहकर्मीले कार्यक्रम निर्माण गर्न निकै मिहिनेत गर्नु परेको बताए । उनले ऐनाका २६ एपिसोडमा एक सयभन्दा बढी पीडितका स्टोरी समेटिएको, एक सयभन्दा बढी विज्ञले कार्यक्रममा आफ्नो राय व्यक्त गरेको उल्लेख गरे । 

यसैगरी, ऐनाले दुई सयभन्दा बढी पीडितसँग प्रत्यक्ष संवाद गर्नुका साथै स्टुडियोमा समेत एक हजारभन्दा बढी दर्शक उपस्थित भएको जानकारी दिए । उनले ऐनाको दोस्रो सिजनको तयारी भइरहेको उल्लेख गर्दै पहिलो सिजनलाई आधार बनाएर दोस्रो सिजनमा अझ उत्कृष्ट कार्यक्रम तयार गर्ने बताए ।

कार्यक्रममा ऐनामा प्रायोजन गर्ने सबै प्रायोजकसँगै ऐना निर्माणमा जुटेका ५० भन्दा सहकर्मीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ