काठमाडौँ । अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा भएको मतदानको आधारमा मेस्सी यो उपाधि पाउन सफल भएका हुन्। एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीका अनुसार, मेस्सीले कुल १,१७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अङ्क) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अङ्क) लाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका छन्।
मतदानमा एआईपीएस कार्डधारी तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका खेल पत्रकारहरू मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन्। पहिलो स्थानका लागि ५ अङ्क, दोस्रोका लागि ३ अङ्क र तेस्रोका लागि १ अङ्क प्रदान गरिएको थियो। जुलाई १३ मा सार्वजनिक गरिएको २० खेलाडीको अन्तिम सूचीबाट पत्रकारहरूको मतका आधारमा मेस्सीलाई सर्वोत्कृष्ट चुनिएको हो।
३९ वर्षीय मेस्सी विश्वकपको इतिहासमा छ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए। अर्जेन्टिनी टोलीका वास्तविक धड्कन बनेका मेस्सीले आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा मेस्सी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता (कुल २१ गोल) बनेका छन् भने विश्वकपमा सर्वाधिक १२ असिस्ट गर्ने कीर्तिमान पनि उनकै नाममा छ। यसबाहेक, उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, २३ खेल जित्ने, नकआउट चरणमा १७ खेल खेल्ने र लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमानकर्ता हुन्।
२७ वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कूल गोल सङ्ख्या २२ पुर्याए र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए। फ्रान्स प्रतियोगितामा पदकविहीन बने पनि एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जिते। त्यस्तै, २३ वर्षीय इङ्लिस मिडफिल्डर जुड बेलिङ्घमले २०२६ को विश्वकपमा सात गोल गर्दै इङ्ल्यान्डलाई तेस्रो स्थान दिलाउन नायकको भूमिका खेले। विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो भने उनले एकै संस्करणमा सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको कीर्तिमान पनि बनाए।