- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालका विद्यालय उमेर समूहमा पर्ने खास गरी १६ वर्षमुनिका ४० हजार भन्दा बढी बालबालिकामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार स्कुल जाने उमेर समूहका ४० हजार ५ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै १८ वर्ष मुनिका ५२ हजार ६ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० वर्ष उमेर समूह सम्मका ७१ हजार ८ सय ५७ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण कम देखिएसँगै सरकारले विद्यालय खुलाउने तयारी गरेको छ । तर, विद्यालय खुलाउँदा विद्यालय उमेर समूहका बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण बढ्ने सम्भावना देखिन्छ ।
खास गरी धेरै जसो विद्यालयहरूमा स्वास्थ्य मापदण्डहरूको उचित पालना हुन नसक्दा समेत सङ्क्रमणको जोखिम उच्च रहने देखिन्छ ।
भदौ २३ गतेको तथ्याङ्कका आधारमा २० वर्ष मुनिका ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या ९९ रहेको छ ।
हालसम्म नेपालमा ८ लाख ५९ हजार ५ सय ३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यीमध्ये ७ लाख ३३ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भइसकेका छन्, भने १० हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।
भदौ २३ गतेको तथ्याङ्कका आधारमा हाल सङ्क्रमणको अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २९ हजार ४ सय ७९ रहेको छ ।