- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको छ ।
मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्याउने गरिएको हो । भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका-६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकोप्टरबाट नै लगिएको थियो ।
सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका-७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकोप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन् । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पुर्याउन हेलिकोप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताए ।
म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चार÷चार पटक हेलिकोप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकोप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।
पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३.६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी-१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ ।
सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन । इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी-जोमसोम, बेनी-दरबाङ, मालढुङ्गा-बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एकवटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ ।