arrow

संसद बैठक बस्दै, सरकार बजेट प्रतिस्थापन विधेयक पेस गर्ने तयारीमा, के गर्ला एमाले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । गत बुधबार बसेको अधिवेशनको पहिलो बैठक असहज बनेपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । 

शुक्रबार संसद बैठक बस्न सहज भए सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने तयारी गरेको छ । संसदमा प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

कार्यालयले शुक्रबार विधेयक संसदमा पेश भएपछि आइतबारदेखिमात्र बजेट कार्यान्वयन गर्न सकिने जनाएको छ । संसद बैठक अवरोध भए पनि यो विधेयक पनि पेश गर्ने सरकारको योजना रहेको बताइएको छ । 

निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित घोषणाहरुलाई हटाएर न्युनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने योजनामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार रहेको छ । 

बजेटमार्फत मुख्य रुपमा ओली सरकारले राज्यको ढुकुटीमाथि अधिक भार पर्ने गरी घोषणा गरेका विभिन्न कार्यक्रम तथा आयोजनाको बजेट कटौती गरिने सत्तारुढ दलका नेताहरुको भनाइ छ । 

के होला शुक्रबारे बैठक
शुक्रबारको बैठक कसरी अगाडि बढ्ला भन्नेमा अन्योल छ । गत बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि बैठक असहज भएको थियो । तीन वटा बैठकमै एमाले सांसदहरुले नाराबाजी गरेपछि वाध्य भएर सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारसम्मका लागि स्थगित गरेका थिए ।

एमालेले आफूले हटाएका १४ जना सांसदलाई संसद बैठकमा बस्न नदिने तर्क गरिरहेको छ । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दल बनाएका माधवकुमार नेपाल लगायतका १४ सांसदलाई आफूले पार्टीबाट हटाइसकेकाले उनीहरु सांसद नरहेको एमालेको तर्क छ । 

तर निर्वाचन आयोगले दल दर्ता गरिसकेको छ । आयोगले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यतासमेत दिइसकेको छ । यो अवस्थामा एमालेले अब संसद अवरुद्ध गर्नुको तुक नभएको समाजवादीका अध्यक्ष नेपालले बताएका छन् । 

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले र जनता समाजवादी पार्टी जसपा फुट्न मद्धत गरेको थियो । 

यसअघि ओली सरकारले पनि यसैगरी अध्यादेश ल्याएको थियो । अहिले उही शैलीमा देउवा सरकारले ल्याएको अध्यादेशको भने एमालेले विरोध गरेको हो । 

संसदमा बुधबार सभामुख सापकोटाविरुद्ध नै मुर्दावादका नारा लागेपछि सापकोटाले संविधान र कानूनअनुसार आफू अगाडि बढ्ने भन्दै कारबाहीको चेतावनीसमेत दिएका छन् । 

एमाले सांसदहरु अमर्यादित भएपछि सापकोटाले वाध्य भएर आक्रामक शैली अपनाएका हुन् । यो असहज परिस्थितिबीच संसद कसरी अगाडि बढ्छ भन्नेमा अन्योल छ । सत्ता गठबन्धन दलले संसदमा सशक्त भूमिका खेल्नका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ । 

तर प्रतिपक्षीसँग अहिलेसम्म छलफल भने गरेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ