arrow

के केपी सभामुखले बोलाएको बैठकमा जान्नन् ? विशाल भट्टराई भन्छन् – ‘निधो भइसकेको छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ः१५ बजे बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित हुने नहुने बारेमा चर्चा भइरहेको छ । ओली सभामुखले बोलाएका बैठकमा नेकपा विभाजन भएदेखि नै जाने गरेका छैनन् । 

तर एमालेले संसद अवरोध गरेपछि सोमबार सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए । यो आधारमा ओली सर्वदलीय बैठकमा सहभागी भएर संसदको अवरोध हटाउन भूमिका खेल्छन् कि भन्ने आशा सबैमा छ । 

तर ओली जाँदैनन् भन्ने चर्चा पनि ब्याप्त छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले हाम्राकुरासँग भने, ‘कुराकानी भइरहेको छ । अहिले निधो भइसकेको छैन ।’

मिडियाहरुमा आइसक्यो नि त भन्ने जिज्ञासामा उनले भने, ‘के आधारमा लेख्छन् खै । उहाँले अहिलेसम्म केही भन्नु भएको छैन । हामी सल्लाह गर्दैछौं भन्नुभएको छ ।’

सभामुख सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सोमबार दिउँसो २ः३० बजे संघीय संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा हुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् । 

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएपछि उक्त अवरोध हटाएर संसद बैठक अगाडि बढाउन सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

उक्त छलफलमा छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवं अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता एवं अध्यक्षउपेन्द्र यादव, लोसपाका नेता एवं अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी सांसद एवं उपाध्यक्ष दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल र राप्रपाका सांसद राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ । 

नेकपा एमालेले आफ्नो दलले कारबाही गरेका १४ जना सांसदहरु अवैधानिक भएको भन्दै संसदभित्रै पस्न नदिन भनिरहेको छ । अर्थात् नेकपा एकीकृत समाजवादीका १४ सांसदहरुलाई कारबाही भएको भन्दै सभामुखले सूचना टाँस्नुपर्ने एमालेको माग छ । 

माधव नेपाल संसदमा बसेसम्म आफूहरुले संसद चल्न नदिने अडानमा केपी ओली रहेका छन् । उनले आफ्ना सांसदहरुलाई सके संसदभित्रै र नसके संसद बाहिर आएर भए पनि विरोध गरिरहन निर्देशन दिएका छन् । 

उनले माइकले कसैलाई नहान्न पनि निर्देशन दिएका छन् । 

संसद निकासको थलो हो । तर त्यही निकासमा अवरोध नगर्न सत्ता गठबन्धनले आग्रह गरिरहेको छ । संसद संचालन गर्ने जिम्मा विपक्षी दलको पनि भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओलीलाई सोध्न पनि संचारकर्मीलाई सुझाएका छन् । 

एमालेको रीस सभामुखमाथि भएका बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली कसरी प्रस्तुत हुन्छन् सोही अनुसार मंगलबारको संसद बैठक अगाडि बढ्ने छ । 

गत बुधबारदेखि शुरु भएको नवौं अधिवेशनको पहिलो दिन विरोधबीच दल सम्बन्धी अध्यादेश विधेयक सरकारले पेश गरेको थियो । शुक्रबार बसेको दोस्रो बैठकमा बजेट विधेयक ल्याएर अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गरेका थिए । 

आइतबार भने कुनै पनि अध्यादेश सरकारले पेश गरेन । सम्भवतः सोमबारको छलफलपछि कुनै निकास निस्किए सहज रुपले र निकास ननिस्किए जवरजस्ती भए पनि सत्ता गठबन्धन अगाडि बढ्न सक्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ