- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै ४८ लाख बराबरको सडक डिभाइडर हस्तान्तरण गरेको छ । प्रदेश दुईका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकालाई ४८ लाख ५३ हजार १ सय ६५ मूल्य बराबरको सडक डिभाइडर हस्तान्तरण गरेका छन्।
मङ्गलवार मन्त्रालयको एक कार्यक्रममा सडक दुर्घटनाका कारण हुने जनधनको क्षतिमा न्यूनीकरण गर्न रोड मार्किङ र रेलिङ र ठाउँ ठाउँमा सडक सङ्केतको आवश्यकता रहेको मन्त्री यादवले बताए । मन्त्री यादवले प्रदेश दुईका प्रमुख बजारहरूको सडक पेटी अव्यवस्थित र व्यापारीबाट कब्जा गरिएको प्रति चिन्ता व्यक्त गरे।
लामो समयदेखि थन्क्याएर राखिएका साना २ सय ४ थान तथा ठुला खालका २ सय ५३ वटा सडक डिभाइडर, बेह्रिएर डोरी ३९ थान हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री राम सरोज यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशनसमेत दिए ।
जनकपुरधामका मुख्य सडक खण्डमा अहिले कङ्क्रिटले बनाइएको डिभाइडर राखिएको छ । भिडभाड तथा सवारीसाधनको अत्यधिक चापले गर्दा समय समयमा दुर्घटना हुने गरेकाले सोको विकल्पको खोज्दै आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको उपस्थिति थियो ।