arrow

सभामुखमाथि रायमाझीको टिप्पणी - उहाँलाई त एक सेकेन्ड पनि पदमा बस्ने अधिकार छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
top-bahadur-rayamajhi.JPG

काठमाडौँ । नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले उठाएका माग पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने बताएका छन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ 

उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँलाई त एक सेकेन्ड पनि पदमा बस्ने अधिकार छैन । हामी त्यस्तो भएर बस्दैनौँ ? सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएर मात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठुलो कुरा हो । सांसद र मन्त्री हुने र नहुने त भइरहन्छ नि । हाम्रो हकमा एक दिन पनि नपर्खीकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’

वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरूको गठबन्धनको संज्ञा दिए। उनले सरकारले दुई महिनासम्म महत्त्वपूर्ण समय खेर फालेको टिप्पणी गरे ।   उनले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताए । उनले अब कुन पार्टी सही र कुन पार्टी गलत ? भनेर जनताले मूल्याङ्कन गर्ने बेला आइसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताए । उनले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरूको माग भएको पनि स्पष्ट पारे । 

उनले एमाले र माओवादी केन्द्र बिच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे । तर, सत्ता स्वार्थमा लागेकाहरुमात्रै नेकपाबाट बाहिरिएको भन्दै अहिले पनि आफूहरू नेकपाकै निरन्तरताको अवस्थामा रहेको सुनाए । उनले भने,‘सर्वोच्चले एमाले र माओवादी बनाइदियो । कानुनी रूपमा मात्रै दुई पार्टी अलग भएका हुन्, तर, राजनीतिक रूपमा होइन । एमालेले आफ्नो सांसदलाई कारबाही गर्दा दुई महिना भइसक्यो सभामुखबाट सूचना टाँसिएन । हामीलाई त एक दिन नबित्दै सूचना टाँसेर सांसद पद गयो । हाम्रो त ह्विप उल्लङ्घनको कुनै रेकर्ड छैन ।’

नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको र तीन वर्षसम्म सबै ठिकठाक चलेको पनि स्मरण गराए । उनले भने,‘प्रचण्डले त केपी ओली पाँच वर्षको लागि प्रधानमन्त्री भनेर भन्नुभएको थियो । राजनीतिक स्थिरताको लागि उहाँले यो भन्नुभएको थियो । तर, पछि उहाँहरूले बखेडा, अराजनीतिक प्रकारको आरोप प्रत्यारोप लगाउँदै पार्टीमा अन्तरसंघर्ष भयो । बरु, विपक्षीलाई प्रधानमन्त्रीको लागि वकालत गर्र्दैै हिँड्नुभएकोले समस्या पैदा भएको हो ।’

संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि रायमाझीले स्मरण गराए । उनले भने,‘ताजा जनादेशमा जाने कुरा त लोकतन्त्रको रक्षा हो ।’

हिजो केपी ओलीले संसदीय दल र केन्द्रीय कमिटीमध्ये एक मात्र ४० प्रतिशत हुने प्रावधानसहित अध्यादेश ल्याउँदा विरोध गर्नेहरूले आज २० प्रतिशतमा झारेर अध्यादेश ल्याएको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘शेरबहादुर देउवा नेतृत्वको सरकारले केवल एमालेलाई फुटाउनको लागि जुन अध्यादेश ल्याइयो, त्यो गलत थियो । यो भन्दा विडम्बनापूर्ण र अराजकता अर्को के हुनसक्छ ? अनैतिकताको पराकाष्ठा हो । देशका पार्टीलाई टुक्रा-टुक्रा पार्ने र भाँडभैलो पार्ने काम भयो । एमाले फुटाउन त्यो हर्कत गरियो । अध्यादेश रह्यो भने काँग्रेस पनि टुक्रा-टुक्रा हुन्छ, माओवादी र जसपापनि टुक्रा-टुक्रा हुन्छ । सर्वसत्तावादी चिन्तन हो । जनताले अब बुझ्नुपर्ने बेला आएको छ । कसले सही र कसले गलत गरेको भनेर बुझ्नपर्छ ।’

उनले अहिले पनि मुलुक प्रतिगमनतर्फ जाने देखिएको खतरा औँल्याए । उनले भने,‘अहिलेको गठबन्धन लोभी पापीहरूको गठबन्धन हो । यो त जसरी पनि सत्तामा पुग्ने मात्रै गठबन्धन हो । जनादेशको खिलाफमा चरम अराजक वादी चिन्तनको आधारमा सरकार चलाउन खोजिएको छ । २ महिना बढी भइसक्यो, सरकारले पूर्णता पाएको छैन । कारण त लोभी पापीहरूको सत्ता स्वार्थ हो, लुटपाटको चिन्तन राख्दा समस्या भएको हो । अब को सही ? को गलत भन्ने छुटाउने बेला आएको छ । अहिले सुनिँदै छ, उनीहरूले चुनावमा महागठबन्धन गर्ने अरे, चुनावमा जान हिम्मत छैन ? लोभी पापीहरूको के हो विचार ? कम्युनिस्ट भन्ने अनि काँग्रेसको पुच्छर बनेर हिँड्ने ?  अहिले अराजनीतिक तरिका देखियो ।’

उनले अहिले मुलुकमा राजनीतिक एजेन्डा नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डा नै रहेको पनि बताए । उनले आफूहरू एमालेमा गएको भनेर प्रचार गरिएको भन्दै आफूहरू नेकपाकालीन निरन्तरतामै रहेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले पनि हामी नेकपाकै निरन्तरतामा छौँ । अरू, साथीहरू भ्यागुतो उफ्रिएझैँ भाग्नुभयो । तिमी एमाले र माओवादी केन्द्रमा जाओ भनेर सर्वोच्चले भन्ने हो र ? हामी नेकपा नै हौँ । कानुनी रूपमा हामी एमाले भयौँ, राजनीतिक रूपमा हामी नेकपा नै हौँ । एमाले कम्युनिस्ट आन्दोलनको मूल धार हो । तथ्यले यो कुरा पुष्टि गर्छ । संसद्को सङ्ख्याको दृष्टिकोणले पनि एमाले पहिलो दल हो ।

वर्तमान सरकारले अर्को बजेट ल्याएकोमा पनि उनले दुखेसो पोखे । उनले भने,‘यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटले जलन भएर अहिले प्रतिस्थापन विधेयक ल्याइएको छ, विकासका एजेन्डा काट्न मिल्छ ? साथीहरू नाँग्गिदै गएका छन् । कार्यकर्ता थेग्ने, पोषण गर्ने, यस्तो प्रकारको कार्यकर्तामुखी बजेट ल्याउनुहुन्छ ? देश र जनताको हितमा बजेट ल्याउनुपर्छ । यसले देशको हित गर्दैन ।’ उनले मुलुकमा अब राजनीतिक क्रान्तिका एजेन्डा तत्काल नभएको भन्दै अब विकास र समृद्धिको एजेन्डालाई बोकेर हिँड्नुपर्ने बताए । 



नयाँ