arrow

राष्ट्रसंघीय महासभा र सार्कको साइडलाइन बैठकको दबाबमा देउवा, परराष्ट्र मन्त्रीमा डा.खड्का नियुक्त गरिंदै

बुधबार शपथ गराउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
naryan-khada.JPG

काठमाडौं । मंगलबार संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन जाने निर्णय गर्यो । सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिमण्डल गठन भएको जानकारी त दिए तर कसको नेतृत्वमा जाने भन्नेबारे केही बताउन सकेनन् । बताउन सकुन पनि कसरी ? प्रधानमन्त्री शेर बहादुर देउवा महासभामा नजाने स्पष्ट पारिसकेकाले कसको नेतृत्वमा पठाउने भन्नेबारे अन्योल थियो ।

मंगलबार रातिबाट  न्युयोर्कमा शुरु भएको महासभामा नेपाल प्रतिनिधि मण्डल पठाउनै पर्ने बाध्यतामा थियो । किनकी नेपाल सार्क राष्ट्रको अनौपचारिक मन्त्रिस्तरिय बैठकको अध्यक्ष नेपाल आफैं भएकाले प्रतिष्ठाका लागि भएपनि देउवाले परराष्ट्र मन्त्री नियुक्तिका लागि सहमति लिइसकेका थिए ।

शुरुमा कानुनमन्त्री कार्की वा परराष्ट्र सचिवबाट मुख्यसचिव बनेका शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली पठाउने भनेर पनि चर्चा चलेको थियो । तर सामान्यतया प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीकै नेतृत्वमा महासभामा जाने चलन छ ।

आफैंले परराष्ट्रको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवा नजाने भइसकेपछि त्यसको विकल्पका रुपमा देउवाले मंगलबार विहान मात्रै सत्तारुढ गठबन्धनका नेताहरुसँग बैठक बसी डा.नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेर उनकै नेतृत्वमा महासभामा पठाउने तयारी थालेको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । हुनत परराष्ट्र मन्त्रीका रुपमा यसघि पनि डा.खड्काको नाम चर्चामा थियो । त्यस्तै विनोद चौधरी र सुजाता कोइरालाको नाम पनि परराष्ट्र मन्त्रीका रुपमा चर्चामा थियो । तर लामो समयदेखि मन्त्री छनोट गर्न नसक्दा देउवा समस्यामा थिए ।

मंगलबार सत्तारुढ दलका नेताहरुको बैठक डाकेर प्रधानमन्त्री देउवाले डा.खड्काको नाम परराष्ट्र मन्त्रीका रुपमा प्रस्ताव गरी सहमति गराएका थिए । १ सय ९३ मुलुकको सहभागिता रहेको विश्वब्यापी संस्था राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गराइछाड्न देउवाले नयाँ रणनीति अपनाएर नेपालको प्रतिष्ठा कायम राख्ने प्रयास गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यद्यपी, देउवाले बुधबार नै नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकेर डा.खड्काको नाम अनुमोदन गराउने तयारी पनि थालेका छन् । यस पटक महासभामा भाग लिनैपर्ने नैतिक दबाबमा पनि थियो नेपाल । किनकी कोरोना भाइरसका कारण प्रभावित बनेको नेपालमा सरकारले कोरोनाविरुद्धको खोपमा भइरहेको असमान वितरण, जलवायु परिवर्तनलगातका विषयमा नेपालले प्रष्ट धारणा राख्नेगरी डा.खड्कालाई बुधबार मन्त्रीका रुपमा शपथ गराई असोज ५ गतेबाट शुरु हुने महासभाको उच्चस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गराइने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

किन हतारमा निर्णय ?

यसअघि सहरी विकासमन्त्री भइसकेका उदयपुर १ बाट निर्वाचित ७२ वर्षे डा.खड्कालाई किन हतार हतारमा मन्त्री बनाएर र महासभामा सहभागी गराउने तयारी थालियो भन्ने विषय चासोको विषय बनेको छ । किनकी नेपाल सार्क राष्ट्रको अनौपचारिक मन्त्रिस्तरिय बैठकको अध्यक्ष नेपाल आफैंले गर्नुपर्ने र महासभामा पनि साइडलाइन बैठकमा नेपालले नेतृत्व गर्नुपर्ने भएकाले प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय दबाबमा थिए ।

यदी नेपालले महासभामा साइडलाइन बैठकको नेतृत्व गर्नुपर्ने नभएको भए डा.खड्कालाई मन्त्री बनाउने संभावना नरहेको बालुवाटार स्रोतले जनाएको छ । अर्थशास्त्रमा विद्यावारिधी गरेका डा.खड्का देउवा निकट मानिएका र विषयबस्तुमा जानकार भएकाले पनि देउवाले खड्कालाई रोजेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ