- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सत्तारुढ गठबन्धनबिच मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छ । गठबन्धन आबद्ध पाँच दलबिच मन्त्रालयमा भागबण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।
स्रोतका अनुसार सहमतिप्रति बिहीबारसम्म कुनै विमति नदेखिए बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुनेछ । गठबन्धनमा बनेको सहमति अनुसार काँग्रेसले जम्मा ७ मन्त्रालय पाउने छ ।
यस्तै माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति छ । नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्यमन्त्री, जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्री र १ राज्यमन्त्री राख्ने सहमति भएको छ । संविधान अनुसार २५ जना भन्दा बढी मन्त्री बनाउन पाइँदैन ।
सरकारको कामलाई सघाउन भन्दै काँग्रेस नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले मन्त्रालयमा भागबण्डा मिलाएको हो ।
कार्यदलमा भएको सहमति बुधबार बसेको बैठकमा शीर्ष नेतृत्वलाई बुझाइएको छ । सो सहमतिलाई अहिले जारी गठबन्धन बैठकबाट शीर्ष नेतृत्वले अन्तिम रूप दिँदै छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बसेको पार्टीको स्थायी कमिटी बैठकमा बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।
गठबन्धन आबद्ध जसपाले भने राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता नभई सरकारमा सहभागी नहुने बताउँदै आएको थियो ।