arrow

वस्तुगत सङ्घहरूका समस्या सुन्न महासङ्घको नयाँ पहल

महासङ्घ सचिवालयमा तीन नयाँ वस्तुगत सङ्घहरूका नवनिर्वाचित टिमको स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
fncci-commodity-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका सदस्य वस्तुगत सङ्घहरू फ्लोर कल्चर एसोसिएसन अफ नेपाल, एलपि ग्याँस उद्योग सङ्घ र नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासङ्घ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ।

विशेष गरी नवनिर्वाचित टिमलाई स्वागत एवं बधाई पनि दिने र नयाँ टिमका भावी कार्य योजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले महासङ्घले वस्तुगत सङ्घका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रमको शृङ्खला सुरु गरेको महासङ्घले जनाएको छ।

महासङ्घले यसअघि नेपाल औषधि उत्पादक सङ्घको नवनिर्वाचित टिमको स्वागत गरेको थियो भने केही दिन भित्र थप केही वस्तुगत सङ्घका नवनिर्वाचित टिमको स्वागत गर्ने तयारी गरेको छ। 

कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले सङ्घका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूलाई स्वागत सहित खादा लगाई बधाई दिँदै नव निर्वाचित उद्यमी व्यवसायीहरूलाई आआफ्ना क्षेत्रका धारणा राख्न आग्रह गरे।

सो क्रममा फ्लोर कल्चर एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङले कोभिडका कारण पुष्प व्यवसाय क्षेत्रले ठुलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलब्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवर्द्धनका लागि आयातित फूल प्रतिबन्ध लगाउनु पर्ने, पुष्प नीतिलाई सङ्घीय संरचना अनुसार परिमार्जन गर्न महासङ्घले सहयोग गर्नुपर्ने सुझाव राखे। नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको र आत्मनिर्भर उन्मुख रहेको छ। 

नेपाल एलपि ग्याँस उद्योग सङ्घका अध्यक्ष कुश प्रसाद मल्लीले ठुलो लगानी रहेको एलपि ग्याँस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रूपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनु पर्ने लगायतका सुझाव राखे। सङ्घमा हाल ५८ वटा ग्याँस उद्योगहरू आबद्ध रहेका छन्। एलपि ग्यास उद्योगमा करिब ११ सय करोड लगानी रहेको छ भने करिब २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खास गरी तातोपानी र रसुवाका व्यापारिक नाकाहरू सुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसँग व्यापार गर्ने व्यवसायीहरू निकै ठुलो आर्थिक मारमा परेकाले महासङ्घले तत्काल नेपाल सरकार तथा चिनिया राजदूतावासमा यस सम्बन्धमा अविलम्ब पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुझाव राखे।

लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हाल पनि न्यूनतम सङ्ख्या तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकोले आयात पूर्ण रूपमा खोलिनु पर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुन पर्ने, सीमा नाका तातोपानी र रसुवामा चिनिया पक्षबाट प्राप्त एसपीएस प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने हुँदा यस्तो प्रयोगशालाको स्थापना हुनु पर्ने, सीमा नाकामा आयात निर्यातसँग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधानार्थ र उत्पन्न समस्या समाधान गर्न निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीन बीच भएको पारवहन सम्झौता प्रोटोकलको जति सक्दो चाँडो कार्यान्वयनमा ल्याइनु पर्ने सुझाव सङ्घको छ।

यसरी आएका सुझाव एवं गुनासाहरूलाई संशोधन गर्दै महासङ्घका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवर्द्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताए। कोभिडबाट थलिएका पुष्प व्यवसायीका समस्या समाधानमा महासङ्घले पहल गर्ने, पुष्प नीति संशोधनको विषयलाई महासङ्घको वस्तुगत परिषद् मार्फत अगाडि बढाउने विश्वास दिलाए। एलपि ग्याँसका सम्बन्धमा सरकारसँग बसेर छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै सञ्चालन गर्न छिट्टै महासङ्घको नेतृत्व सङ्घका पदाधिकारी समेत सम्मिलित टोलीले चिनिया राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी ठोस पहल गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा सङ्घका नवनिर्वाचित अध्यक्षहरूले महासङ्घले अत्यन्त महत्त्वपूर्ण कार्यक्रमको थालनी गरेकोमा प्रशंसा समेत गरेका थिए।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वस्तुगत सङ्घहरूको वास्तविक समस्या पहिल्याई समस्या संशोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताए। महासङ्घको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यावसायिक विकासका मुद्दामा निरन्तर खटिरहेकाले यसमा सबै सदस्य सङ्घहरूको हातेमालो आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा महासङ्घको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाई एवं शुभकामना दिँदै महासङ्घले सदस्य वस्तुगत सङ्घहरूसँग सधैँ नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुनी त्यसलाई संशोधन गर्ने प्रयास स्वरूप नवनिर्वाचित टिमसँग यस प्रकारको कार्यक्रमको थालनी गरेको स्पष्ट पारे।

महासङ्घले वस्तुगत सङ्घहरूलाई उच्च प्राथमिकता दिई महासङ्घमा वस्तुगत सङ्घहरूलाई मात्र सेवा दिन वस्तुगत सचिवालयको स्थापना गरेको, सङ्घहरूसँग नियमित भेटघाट तथा छलफल मार्फत वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकाय मार्फत संशोधन गर्न पहल गरेको स्पष्ट पारे।

महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासङ्घले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधैँ उच्च प्राथमिकता दिएको बताए। वस्तुगत सङ्घहरू अर्थतन्त्रका बलिया खम्बा भएकाले वस्तुगत सङ्घहरू समस्यारहित ढङ्गबाट चल्न सके रोजगारी सिर्जना र लगानी आकर्षणमा समेत सहयोग पुग्ने बताए। साथै महासङ्घले सबै सदस्यहरूको इमेल ठेगानमा एकरूपता ल्याउन काम गरिरहेको समेत स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ