arrow

चिन्ता कोरोना निर्मूलनको

कोरोनाबारे कतिपयलाई जानकारी नभएकोमा प्रधानमन्त्री देउवा दुःखी, बैशाखसम्म सबैलाई खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
sher-bahadur-deuba-786.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी बैशाखसम्म सबैलाई कोरोना विरुद्धको खोप लगाउन दृढ देखिएका छन् । उनले सरकारको योजना सुनाउँदै सरकारले जस्तोसुकै परिस्थितिको सामना गर्दै बैशाखसम्ममा खोप लगाउने बताएका हुन् । 

बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले कोरोना महामारीको खतरनाक रुप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुखेसो गरे । 

कार्यक्रममा देउवाले भने, ‘अघि वासुदेव बर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई । कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिति छ कि के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त अत्यन्तै दुखित भएको छु । म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले अगाडि भने, ‘मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ । त्यसैकारण अहिले कोभिड पनि खतरनाक रुप नेपालमा आएको छ । धेरै मान्छेहरु मरेका छन् । कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन । यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ । महामारी प्राकृतिक विपत्ति हो ।’

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाएका छन् । बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्कृत गरेको हो । 

अहिलेसम्म खोप
कोरोना विरुद्धको खोप लगाउन सरकार तीव्र गतिमा अगाडि बढिरहेको छ । दैनिक खोप लगाउने काम भइरहेको छ । बिहीबार मात्रै एकै दिन १ लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । असोज ४ देखि १४ गतेसम्म देशैभर भेरोसेल खोपको योजना चलिरहेको छ । 

यो योजना पूरा भएपछि धेरै उमेर समूह समेटिने छ । सरकारले असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप लगाइसक्ने योजना बनाएको छ । 

अहिलेसम्म ६२ लाख ९३ हजार ८९ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण खोप लगाइसकेका छन् । 

कोरोना विरुद्धको खोप लगाउन थालेपछि मृत्यु दरमा कमी आएको छ । अहिले ९६ प्रतिशतलाई निको भएको छ भने १.४ प्रतिशतको ज्यान गएको छ । 

अहिलेसम्म ७ लाख ८८ हजार ७६९ जना पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकामा ७ लाख ५६ हजार ९५४ जनालाई निको भइसकेको छ । 

११ हजार ७२ जनाले ज्यान गुमाएका छन् । 

देउवाको गुनासो र हेलचेक्रयाइँ 
देउवाले कतिपयलाई कोरोनाका बारेमा थाहा नभएको भन्नु साँच्चिकै गम्भीर कुरा हो । किन भने यसलाई दुई भागले हेर्न सकिन्छ । एउटा हो कोरोनाबारेमा जानकारी नै नहुनु । कतिपय ग्रामिण भेगमा सामान्य तरिकाले कोरोना पुगेको छ र किसानलाई रोगले भन्दा पनि भोकले सताउने भएकाले उनीहरु दैनिक काममा हुन्छन् । न चेतना दिने निकाय त्यहाँसम्म पुगेको छ र न त किसानहरु सोध्न पुग्न भ्याएका छन् । 

अर्को कुरा अत्यन्त महत्वपूर्ण छ । त्यो हो बेवास्ता । शहरमै कोरोनाप्रति बेवास्ता गर्ने धेरै छन् । मास्क नलगाउने, भीडभाडमा जाने र स्वास्थ्य प्रोटोकल कुनै पनि नअपनाउने । 

यो समूह कोरोना बुझेर पनि नबुझेझैं गरेको हो । बेवास्ता गरेको हो । देउवाले यो समूहलाई भनेको हुनुपर्छ । अर्कातिर कोरोनाका नाममा अर्बौं खर्च भइसकेको छ । जनचेतना जगाउने नाममा पनि खर्च भएको भयै छ । तर सम्बन्धित ठाउँमा यो चेतना पुगेको छैन । 

सम्बन्धित निकायले यतातर्फ पनि ध्यान देओस् भनी देउवाले सचेत गराएको हुन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ