काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको खोप अब घरघरमै पुगेर लगाइदिने भएको छ । नरेन्द्र मोदी सरकारले ठूलो निर्णय गर्दै अब डोर–टु–डोर खोप लगाइदिने भएको हो ।
यसको अनुमति दिँदै सरकारले यसका लागि गाइडलाइन्स पनि जारी गरिसकेको छ । नीति आयोगका सदस्य डा. वीके पालका अनुसार अब घरघरमै पुगेर खोप लगाइने छ ।
जो कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रमा जान सक्षम छैनन् उनीहरुका लागि सरकारले यो योजना ल्याएको हो । सरकारले जारी गरेको एडभाइजरीमा सबै राज्यमा यसको व्यवस्था गर्न भनिएको छ ।
अहिलेसम्म ८४ करोड १५ लाख १८ हजार २६ जनाले कोरोनाको खोप लगाएका छन् । जसमा १६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । ४६.७ प्रतिशतले कम्तीमा एक डोज खोप लगाइसकेका छन् ।
भारतमा कोरोना संक्रमणमा कमी हुँदै गएको छ । बिहीबार ३१ हजार ४११ संक्रमित थपिए । त्यस्तै ३२ हजार ५१० संक्रमितलाई निको भयो । ३१८ जनाको ज्यान गयो ।