- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सोमबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० यात्रु बोके विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फिर्ता भएको छ ।
ल्यान्डिङ गियर (अवतरण गर्ने बेलाको प्रणाली) मा समस्या आएपछि जहाज विराटनगरमा अवतरण हुन नसकेको हो । त्यसपछि जहाज काठमाडौं फर्किएको थियो । तर काठमाडौँमा पनि सोही समस्याका कारण जहाज अवतरण हुन सकेन । सोही कारण एक घण्टाभन्दा बढी समयसम्म आकासमै घुमेको जहाज १० बजेर २० मिनेटमा सुरक्षित तरिकाले अवतरण गर्न सफल भएको हो ।
जहाजमा ७० जना यात्रु र ४ जना चालक दल रहेको विमानस्थलका एक अधिकारीले बताए । बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा समेत दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो।
नेपालमा आन्तरिक उडानका जहाजहरूमा काठमाडौं समस्या रहेको गुनासोहरु आइरहने गर्छन् । यद्यपि, आजको घटना जहाजकै समस्याका कारण हो या अचानक भएको हो, भन्नेबारे भने जानकारी मिलेको छैन ।