- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। चौधरी ग्रुपले आर्थिक वर्ष २०७७-०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको छ। नेपाली काँग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलव ७३ प्रतिशत रहेको छ। एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठुलो योगदान हो।
कोभिडका कारण विश्वव्यापी अर्थतन्त्र ओह्रालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा ग्रुपले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो।
‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै सङ्कुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ’, सांसद एवं ग्रुपका अध्यक्ष चौधरीले भने, ‘स्वास्थ्य सङ्कटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु।’
विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रुपैयाँ योगदान गरेको छ। चौधरी ग्रुप मातहत सञ्चालित कम्पनीहरूले उक्त योगदान गरेका हुन्। चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ। यस ग्रुपका अध्यक्ष विनोद चौधरी नेपालमा एक मात्र डलर अर्ब पतिको सूचिमा रहेका छन्।
गत वर्ष कोभिडका कारण ग्रुपद्वारा सञ्चालित सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए। स्वास्थ्य सङ्कटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति शृङ्खलामा नराम्रो असर परेको थियो। ग्रुपका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए ग्रुपद्वारा नेपाल सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको बताए।
‘अर्को पक्षबाट हेर्दा यस्तो सङ्कटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राइसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, ‘हामी नेपालका धेरै क्षेत्रहरूमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक वर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ। नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सदैव गर्वको विषय हो।’
यसैबीच नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले केन्द्रीय कमिटी बैठकमा विश्वका अर्ब पतिको सूचिमा रहेका तर नेपाल सरकारलाई कर बुझाउनेमा भने नाम नआउने भनी विनोद चौधरीलाई लक्षित गर्दै टिप्पणी गरेको भन्ने विषयमा ध्यानाकर्षण गराउँदा चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले यदि प्रधानमन्त्री भइसकेको व्यक्तिलाई यस विषयमा जानकारी नभएको हो भने त्योभन्दा दुःखद कुरा अरू के हुनसक्छ भनी प्रतिक्रिया दिए।
‘चौधरी ग्रुपले प्रत्येक वर्ष सरकारलाई बुझाएको करका बारेमा सार्वजनिक विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको छ। र, नेपालमा सम्भवतः हामीले मात्रै पारदर्शी रूपमा करको विवरण सार्वजनिक गर्दै आएका छौँ’ प्रवक्ता पौडेलले भने, ‘हामी गर्वका साथ भन्न सक्छौँ कि नेपालमा सबैभन्दा धेरै लगानी विस्तार गर्ने र कर तिर्नेमा चौधरी ग्रुप रहेको छ।
कोभिड सङ्कटका बाबजुद पनि चौधरी ग्रुपको अब्बल व्यवस्थापनका कारण राष्ट्रिय ढुकुटीमा गर्व गर्न लायक योगदान गर्न सम्भव भएको छ।’ लगानी विस्तार, रोजगारी सृजना र विकास परियोजना कार्यान्वयन जस्ता राष्ट्रिय विकास एजेन्डाका बारेमा राजनीतिक पूर्वाग्रह त्याग्नु नै देशका लागि हितकर हुने सुझाव पनि पौडेलको छ।
पूर्व प्रधानमन्त्री ओलीको राजनीतिक पूर्वाग्रहका कारण सीजीले टेलिकममा लगानी गर्न पाएको छैन जसका कारण सयौँ रोजगारी गुमेका छन्, मुलुकले अर्बौँको राजश्व गुमाउनु परेको छ भने उपभोक्ता टेलिकममा सस्तो र गुणस्तरीय मोबाइल टेलिफोन सेवा उपभोग गर्नबाट वञ्चित भएका छन्।