arrow

मन्त्री हुन जसपाका सांसदहरूको अन्तिम दौडधुप

उपेन्द्र जनकपुर गए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौँ । यो हप्ता मन्त्रीमण्डल विस्तार हुने सङ्केत पाएपछि जनता समाजवादी पार्टीका मन्त्रीका आकाङ्क्षीहरूले अन्तिम दौडधुप सुरु गरेका छन् । तर अध्यक्ष उपेन्द्र यादव भने सोमबार काठमाडौँबाट जनकपुर गएका छन् । 

मङ्गलवार जनकपुरमा प्रदेश २ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गरेका केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको छ । यसैगरी जसपाको प्रदेश २ समितिको बैठक पनि मङ्गलवार बोलाइएको छ । उक्त बैठकमा सहभागी भई यादव बुधबार मात्र काठमाडौँ फर्कने भएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ बसेको गठबन्धन बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्ने सहमति भएको बताउँदै अध्यादेश खारेज हुने बित्तिकै मन्त्रीमण्डल विस्तार हुने बताए । जसपाका एक नेताले भने यो हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुने निश्चित भएको बताए । ‘अब लम्बिँदैन ।यो हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ’उनले भने । 

जसपाबाट १९ जना प्रतिनिधि सभा र १ जना राष्ट्रिय सभामा प्रतिनिधित्व छ । ती मध्ये अधिकांश मन्त्रीको लागि आकाङ्क्षी छन् । मन्त्री हुनकै लागि महन्थ ठाकुर कित्ताबाट कित्ता परिवर्तन गरी ७ जना सांसद उपेन्द्र यादवतिर गएका छन् । तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन् । 

मन्त्री हुन विभिन्न किसिमबाट लबिङ गरिरहेका जसपाका २० जना सांसदमध्ये ११ जना त यादव समुदायका मात्रै छन् । ११ जनाबाट ३ देखि ४ जना छान्न अध्यक्ष यादवलाई निकै सास्ती परेको छ । यसैगरी जसपाका ३ जना महिला रेणु यादव, अमृता अग्रहरी र प्रमीला यादव मन्त्रीको लागि निकै दौडधुप गरेका छन् । 

मन्त्री हुनकै लागि नरमाया ढकालले कित्ता परिवर्तन गरेकी छन् । स्रोतका अनुसार, प्रमोद साहलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्। यसैगरी मन्त्री हुनको लागि मृगेन्द्रसिंह यादवले कित्ता परिवर्तन गरी यादवतिर गएका छन् ।

अध्यक्ष यादव सरकारमा गएनन् भने पार्टीबाट नेतृत्व गर्दै कसलाई पठाउने भन्ने विषयमा पार्टीभित्र अर्को विवाद छ । उपप्रधानमन्त्री पद पाए आफू जाने, नपाए कसैलाई पठाउने सोच अध्यक्ष यादव बनाएका छन् । उनी सरकारमा गएनन् भने पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले चासो देखाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ