arrow

मेगा बैङ्कबाट झापामा किसानहरूलाई मेगा किसान कार्ड वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
mega-bank-Jhapa-farmer-loan.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले झापाका किसानहरूलाई मेगा किसान कार्ड वितरण गरेको छ। परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रूपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालि सँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। सो अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा मेगा बैङ्कको माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैङ्क दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैङ्किङ सेवा सुविधाहरू बचत, ऋण, रेमिटेन्स, बचत गर्ने उपायहरू, बचत तथा ऋणको महत्त्वको बारेमा प्रकाश पारे।

नेपाल कृषिप्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढङ्गले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरूको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिँदै उनीहरूले कृषकहरूले उठाएका जिज्ञासा एवं सवालहरूको समाधान गरेका थिए।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात् मेगा बैङ्कले हिमशिखर एग्रोसँग आबद्ध ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैङ्कको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ।

साथै, मेगा बैङ्कले कृषकहरूलाई बैङ्कको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बिउ, मल, किटनाशक औषधी लगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्नेछन्। किसान क्रेडिट कार्ड मेगा बैङ्कले कृषकहरूलाई जारी गरेको पहिलो अत्याधुनिक सेवा हो, जसले गर्दा किसानहरूलाई बैङ्किङ कारोबार गर्न सहज र सरल भएको छ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरे लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ