नेपालमै सुरु भयो 'जिन सिक्वेन्सिङ', देखिएन कोरोना भाइरसको नयाँ भेरिअन्ट
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज १२ मंगलबार
829
Shares
काठमाडौं। नेपालमै पहिलो पटक कोरोना भाइरसको 'जिन सिक्वेन्सिङ' सुरु भएको छ । वासिङ्टन विश्वविद्यालय र विश्व स्वास्थ्य सङ्गठनको नेपाल स्थित कार्यालयको सहयोगमा सरकारी प्रयोगशालाहरूमा जिन सिक्वेन्सिङ गर्न थालिएको हो।
यसबिच त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको छ।
विभिन्न ठाउँबाट संकलित नमुनाकाे जिन सिक्वेन्सिङ गर्दा नेपालमा हाल कुनै पनि नयाँ भेरिअन्ट नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ।
जिन सिक्वेन्सिङ गरिएका कुल ४२ नमुनामध्ये ४१ वटामा डेल्टा भेरिअन्ट पुष्टि भएको छ भने, एउटा मात्रै नमुनामा अल्फा भेरिअन्टको सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हाल डेल्टा भेरिअन्ट को सङ्क्रमण प्राथमिकरूपमा रहेको छ । यसअघि नै अल्फा भेरिअन्ट को सङ्क्रमण फैलिसकेको थियो ।
कोरोना भाइरसको सुरुवाती स्वरूप भन्दा यी दुवै भेरिअन्ट बढी सङ्क्रामक रहेका छन् । अल्फा सुरुमा बेलायतमा फेला परेको भेरिअन्ट हाे, जसको सङ्क्रमण नेपालमा समेत फैलिएको थियो ।
डेल्टा भेरिअन्ट सुरुमा भारतमा फेला परेको थियाे । विज्ञहरूले नयाँ भेरिअन्ट नदेखिएमा अब, नेपालमा संक्रमण बढ्ने सम्भावना कम रहेकाे अनुमान गरेका छन् ।
झण्डै २५ प्रतिशत भन्दा बढी नागरिकले पूर्ण खाेप लगाइसकेका छन् । धेरै नागरिक संक्रमण समेत भइसकेका छन् । यसै कारण नयाँ भेरिअन्ट नदेखिए संक्रमण बढ्ने सम्भावना कम रहने सरूवा राेग बिशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
यद्यपि, यसअघि संक्रमण नफैलिएकाे र खाेप समेत नपुगेकाे ठाउँमा भने संक्रमण बढ्न सक्ने सम्भावना रहने उनकाे भनाइ छ ।