arrow

विश्व रेबिज दिवस: 'तथ्य बुझौँ, त्रसित नहोऔँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
Rabies-dog-mad.jpg

ललितपुर। ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ ।मङ्गलवार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

कार्यक्रमपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ नगरी उपचारमा लाग्नुपर्ने बताए ।

डा. पौडेलले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भए मात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताए । उनले घरपालुवा कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०-१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए ।

निर्देशक डा. पौडेलले भने, ‘विशेष यो रेबिज जङ्गली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांक अनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरू टेकु अस्पतालमा भर्ना भएका थिए, धेरै डेथहरु पनि भएको छ, बचाउन मिल्ने डेथ भएको छ, मैले पाएको तथ्यांक अनुसार महिनामा करिब करिब एकदेखि दुई जनाको डेथ भएको छ टेकु अस्पतालमै, देशभरको तथ्याङ्क छैन,रेबिज वास्तवमा घरपालुवा कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाएर बचाउन सकिन्छ,रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुन पानीले १०- १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज विरुद्धको खोप लगाएर बचाउन सकिन्छ,तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो,केही लक्षण छैन, ठिकै छ भनेर खोप लगाउँदैनौँ,त्यसले बचाउन मिल्ने व्यक्तिहरूको पनि दुःखद निधन भएको छ,त्यसैले सचेत बनौँ, आतङ्कित होइन ।’

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरू टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरूको वार्षिक तथ्याङ्क राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए ।

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शून्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बास्तोलाले यसका लागि सबै स्थानमा आम नागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यस विरुद्धको खोप लगाउने र कुकुरको जनसङ्ख्यामा कमी गरे २०३० सम्ममा कुकुरबाट हुने रेबिज शून्यमा ल्याउन सकिने बताए । उनले रेबिजबाट मृत्यु हुनेहरूको तथ्याङ्क मानिसको मात्रै नभई जनावरहरूको पनि यकिन तथ्याङ्क राख्न सरकारले काम गरिरहेको बताए ।

निर्देशक बास्तोलाले भने, ‘वर्षेनी २ दर्जन जति रेबिजको लक्षण भएका बिरामीहरू टेकु अस्पतालमा आउने गरेका छन्,कुकुर र अन्य जनावरले टोकेका मानिसहरूको सङ्ख्या ३,४ हजारको मासिक सुई लगाउन आउनेको सङ्ख्या हुन्छ भने रेबिज सङ्क्रमित नै भएर सुई लगाउन आउनेहरूको सङ्ख्या वर्षेनी २ दर्जन जति हुन्छ,रेबिजको परिपेक्षमा हेर्ने हो भने हामीले रेबिजलाई मोटिफाइबल डिजिजको रूपमा अघि बढाउनुपर्छ भन्ने कुराहरू अगाडि सारेका छौँ,यसको पछाडिको मुख्य कारण के छ भने यसको यकिन तथ्याङ्क छैन, टेकु अस्पताल बाहेकका अस्पतालमा उपचाररत गर्नेहरूको डेटा छैन, मानिसमा मात्रै होइन जनावरमा हुने रेबिजको पनि हामीले तथ्याङ्क राख्नुपर्छ भनेर कुरा अघि बढाएका छौँ, नेपालमा कुकुरबाट मानिसमा हुने रेबिजलाई शून्य बनाउने भन्ने लक्ष्य सरकारले राखेको छ, २०३० सम्ममा, यसलाई पूरा गर्नको लागि मुख्य तीन वटा कामहरू गर्नुपर्नेछ, एउटा कुनै पनि जनावरको टोकाइपछि लगाउने खोपलाई आम सर्वसाधारणहरूलाई सर्वसुलभ रूपमा सबै स्थानमा पुर्‍याउने, अर्को भनेको कुकुरलाई रेबिज नहोस् भनेर त्यस विरुद्धको खोप लगाउनुपर्छ, कुकुरको जनसङ्ख्यामा नियन्त्रण हो, यो केही वर्ष लाग्न सक्छ, यदि साँच्चै २०३० सम्ममा कुकुरबाट मानिसमा हुने रेबिजलाई शून्य बनाउने कुरा छ यसलाई परिपूर्ण गर्न यी तीन पिल्लरका कामहरू गर्नुपर्छ ।’

निर्देशक बास्तोलाले विकसित देशहरूमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरूमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताए । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरूलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ