- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रालयको बाँडफाँडबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच अहिले बालुवाटारमा भेट जारी छ ।
हिजो बसेको माओवादी स्थायी कमिटी बैठकबाट मन्त्रीको नाम टुङ्गिन नसकेपछि बैठकले नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । त्यसपछि आज प्रचण्ड मन्त्रालयको टुङ्गो लगाउन बालुवाटार गएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि मन्त्रालय टुङ्गो लगाएर मन्त्रीको नाम टुङ्गो लगाउने माओवादीको तयारी छ ।
बालुवाटार स्रोतले मन्त्रिपरिषद् विस्तार र राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्तापछिको समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको जनाएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः आज पनि बस्दै छ ।
सत्ता गठबन्धन आबद्ध दलहरुबीच मन्त्रीको संख्यामा भने सहमति बनिसकेको छ । अब मन्त्रालय कसले कुन लिने भन्ने सहमति गरेर मन्त्रीपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । हाल प्रधानमन्त्री देउवाले १६ मन्त्रालय आफैँले सम्हाल्दै आइरहेका छन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, खानेपानी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैँले सम्हाल्दै आइरहेका छन् ।