arrow

मन्त्रीपरिषद् विस्तार: मन्त्री हुनेको नाम धमाधम टुङ्गाइँदै, कुन पार्टीबाट को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
sarkar.JPG

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्नका लागि गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज (बुधवार) नै मन्त्रीपरिषद्लाई पूर्णता दिन चाहेको भएपनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने भोलि बिहीबारसम्म पर्खन देउवालाई आग्रह गरेका छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवसमेत जनकपुरमा छन् ।

मन्त्रीपरिषद् विस्तारकै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीदेउवाबीच  आजै प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा छलफल भएको हो । सो विषयमा भोलि बिहीबार बिहान पुनः छलफल गर्ने र निर्णयमा पुग्ने सहमति भएको छ ।

मन्त्रालयको सङ्ख्याका विषयमा भने गठबन्धन आबद्ध दलहरूका बीचमा सहमति भइसकेको छ । सहमति अनुसार कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर कुन कुन मन्त्रालय कसले लिने भन्ने टुङ्गिएको छैन ।

कांग्रेसबाट को को ?

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल, भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना र पुष्पा भुसाल मन्त्री बन्ने पक्का भएको छ ।

यस्तै सरकारमा हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । यस्तै १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए ।

माओवादी केन्द्रबाट को को ?

गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराँती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल मध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना मन्त्री बन्ने छन् । एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेकपा एसबाट को को ?

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि ५ मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्ने छन् ।

जसपाबाट मन्त्री यी नाम चर्चामा

जसपाले मन्त्री छनोटको जिम्मा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का जस्तै छ । यस्तै महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । 

 



नयाँ