arrow

कुमारी बैङ्क र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

कुमारी स्काई क्लब कार्ड जारी गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
kumari-bank-yeti-airlines-mou.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स प्रालिले व्यावसायिक साझेदारी गर्दै संयुक्त रुममा नेपालमै पहिलो पटक स्वाइप र फ्लाई अभियानको सुरुवात गरेको छ। यती एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैङ्कको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब सह-ब्रान्ड कार्ड जारी गरिने बैङ्कले जनाएको छ।

यसै सन्दर्भमा कुमारी बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लब कार्डका वाहकहरूले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैङ्कका ग्राहकहरू समेत प्रोत्साहित हुने विचार व्यक्त गरेका थिए।

अब एयरलाइन्स र बैङ्कका साझेदार ग्राहकहरूले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताए। हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यावसायिक सहकार्य विल्कुलै पृथक् शैलीमा नेपालमै पहिलो पटक भएको हो। त्यस कारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्त्वपूर्ण रहेको छ। यस कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाइ दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएको भन्दै सिइओ रिमालले आफ्नो विचार व्यक्त गरेका थिए।

यसै सन्दर्भमा, “अब हाम्रा ग्राहकहरूले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकहरूले यती एयरलाइन्सको निःशुल्क टिकट प्राप्त गरी उडान भर्न सक्नेछन्।” यस प्रकारको सहकार्यले डिजिटल भुक्तानी बानीलाई थप प्रोत्साहन गर्ने विश्वास डिजिटल बैङ्किङका प्रमुख अनिष ताम्राकारले व्यक्त गरे।

“अब दुई वटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुवै कार्डको काम गर्नेछ”, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले जानकारी दिँदै भने, “बैङ्क र एयरलाइन्सको साझेदार ग्राहकहरूले जुनसुकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ। निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरूले सजिलै उपभोग गर्न सक्नुहुनेछ र आवश्यकताअनुसार यती एयरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ। कुमारी स्काइ क्लब कार्ड स्वाइप गरी रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमको ट्याग लाइन नै "हामी तपाईँको खर्च लाई पुरस्कृत गर्दछौँ" राखिएको छ।”

सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैङ्क र यती एयरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू थप गर्दै लगिने जनाएका छन्।

सेवाग्राहीको सुविधालाई अग्रपङ्क्तिमा राखी कुमारी बैङ्कले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२    एटिएम, ३२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ