arrow

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक: संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई निम्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
deuwa.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा देखिएको अवरोध, एमसीसी लगायतका विषयमा दलहरुबीच छलफल आवश्यक रहेको भन्दै प्रधानमन्त्री देउवाले बिहीबार १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको नीजि सचिवालयका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् ।

यस्तै नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् । सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनमा रहेका र प्रतिपक्षमा रहेका सबै दललाई बेलाइएको हो ।

यसअघि प्रधानमन्त्री देउवाले मङ्गलवार मात्रै संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीसँग सल्लाह गर्न पठाएका थिए ।

२३ भदौमा सुरु भएको संसद्को चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । त्यसयताका हरेक जसो संसद् बैठक सभामुखले प्रक्रिया पुर्‍याएर स्थगित गर्दै आइरहेका छन् ।

एमालेले भने आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने अडान लिँदै आइरहेको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री देउवाले डाकेको बैठकमा भने एमाले सहभागी हुने बताइएको छ । 



नयाँ