arrow

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
madhumaya-adhikari.JPG

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् । 

स्वास्थ्य बिमा बोर्डको आयोजनामा पोखरामा आयोजित गण्डकी प्रदेशका स्वास्थ्य बिमामा आबद्ध सेवा प्रदायक संस्थाहरूसँग स्वास्थ्य बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले स्वास्थ्य बिमामा हरेक सर्वसाधारणको पहुँच पुर्‍याउनुका साथै सेवाको गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने बताइन् ।

प्रदेशमा आर्थिक समृद्धिसँगै स्वास्थ्य समृद्धि आवश्यक भएको बताउँदै मन्त्री अधिकारीले स्वास्थ्य बिमा सञ्चालनमा आएको पाँच-छ वर्षको अवधिमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको र यसलाई क्रमशः व्यवस्थित गर्दै जानुपर्ने आवश्यकता औँल्याइन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले स्वास्थ्य बिमा कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुन सक्ने ठुलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम व्यवस्थापन गरिने बताए । त्यसबाट भविष्यमा स्वास्थ्य समस्याबाट हुनसक्ने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गरी वित्तीय संरक्षण प्रदान गर्ने उनको भनाइ छ ।

बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा.माधव लम्सालले आगामी दिनमा बिमा सेवाको दावी, मूल्याङ्कन तथा भुक्तानी प्रणाली सहज, स्पष्ट पारे । 

बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउँदै गुनासो रहित सेवा प्रवाह गर्नेतर्फ बोर्ड क्रियाशील बनेको बताए । 

स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने, स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र स्वास्थ्य बिमा रहेको बताउँदै सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगको क्रममा अनियोजित रूपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनका लागि यो कार्यक्रम ल्याइएको उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का लगायतले बिमा प्रणाली सक्षम एवम् प्रभावकारी भएका देशबाट नेपालले पनि सिक्नुपर्ने बताउँदै यसको प्रभावकारिताले स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने स्पष्ट पारे ।
उनले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहसम्म नै पुग्नुपर्ने भन्दै समग्र स्वास्थ्य प्रणालीमा सुधार आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी बिमा कार्यक्रम सबै जनताको महत्त्वपूर्ण उपलब्धि भएको बताइन् । उनले आम जनताका लागि ल्याइएको कार्यक्रम बिमालाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै स्वास्थ्यमा सबै जनताको पहुँच पुर्‍याउनुपर्ने खाँचो औँल्याइन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरतबहादुर खत्रीले बिमा कार्यक्रम अझ धेरै प्रभावकारी बनाउनुपर्ने बताए । उनले बिमा कार्यक्रम भर्खरै आएको हुँदा समस्या धेरै नै भए पनि सुधारका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा सहभागीबाट प्रथम सेवा विन्दुका रूपमा देखिएका समस्या, भुक्तानी व्यवस्थापनमा देखिएका समस्याका साथै बुझाइमा अस्पष्टताका कारण बिमित र सेवा प्रदायकबीच देखिएका समस्यालाई निराकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ