- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेकोप्रति नेपाल दूरसंचार प्राधिकरणले आपत्ति जनाएको छ । अत्यन्त जरुरी सूचना जारी गर्दै दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध भएकोप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
सूचनामा, ‘इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ’ दूरसंचार प्राधिकरणले भनेको छ ।
उसले ‘दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुःख व्यक्त गर्दछ’ भनेको छ ।
दूरसंचारले राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानूनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।
सूचनामा अगाडि भनिएको छ, ‘हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने–गराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ ।’