arrow

अख्तियारले छापा मारेको भन्दै जनकपुरमा जसपाको विरोध प्रदर्शन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज १७ आइतबार
jasapa-birodh.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘छापामार शैलीमा छापा मारेको’ भन्दै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।

अख्तियारले चालेको कदमको विरुद्धमा आइतबार मोटर साइकल रयाली सहित जसपाले बृहत् विरोध प्रदर्शन गरेको छ । जनकपुरधामको रेल्वे स्टेसन देखि सुरु गरेको मोटरसाइकल र्‍याली पिडारीचौकमा आएर कोणसभामा परिणत भएको थियो ।

जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन खोजिएको जसपाको आरोप छ। छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्‍याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको जसपाका एक नेताले जानकारी दिए।

उनले भने,'अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत रहेको छ।'

बेटी बचाउ, बेटी पढाऊ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । उक्त टोलीले सम्बन्धित कागजात नियन्त्रणमा लिएर गएको छ।

अख्तियारको टोलीले छापा मारेको केही घण्टा नबित्दै मुख्यमन्त्री लालबाबु राउतले समेत पत्रकार सम्मेलन गरी सङ्घीयतालाई समाप्त पार्न र प्रदेश सरकारलाई बदनाम गराउन छापा मारिएको आक्रोश पोखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ