arrow

प्रतिनिधि सभाको बैठक बस्दै, सरकार आफ्नो लयमा, विपक्षी पुरानै तालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

सचिवालयको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६–७७ पेश गर्ने कार्यसूची रहेको छ ।

सरकार र विपक्षीका आफ्नै ताल
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक नियमित रुपले संचालन हुन सकिरहेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक अवरुद्ध गरिरहेको छ । 

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई संसदभित्र छिर्न नदिन सभामुखलाई आग्रह गर्दै आएको छ । आफूले कारबाही गरेकाहरु गैरसांसद भएको उसको जिकिर छ । 

तर यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा यसबारेमा केही कारबाही अगाडि बढाउन नमिल्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउँदै आएका छन् । 

एमालेबाट बाहिरिएका यिनै १४ सांसदबाट नेकपा एकीकृत समाजवादी दल बनिसकेको छ । 

एमालेले कारबाही नभएसम्म संसद चल्न नदिने बताएको छ । सहमतिका लागि सभामुख र प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाए पनि एमाले सहभागी भएन । 

आफूले कारबाही गरेका सांसदहरु सहभागी हुने बैठकमा सहभागी नहुने एमालेले अडान राख्दै आएको छ । 

सोही कारणले कुनै मिलनको बिन्दू देखिएको छैन । सरकारले भने नियमित रुपमा आफ्ना कार्यक्रमहरु अगाडि बढाएको छ । 

कोही पनि टसको मस नभएपछि जनताका आवाज सुनाउने थलो संसद भने औपचारिकजस्तो देखिएको छ । 

आफ्ना सांसदहरुलाई अनधिकृत भन्ने नेकपा एकीकृत समाजवादीका सांसदहरुले भने दुई पटकसम्म संसद विघटन गर्ने एमालेलाई संसदभित्र छिर्ने अधिकार नभएको बताउँदै आएका छन् । 

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमाले संसदभित्र छिर्नु लाजमर्दो भएको बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ