arrow

डा. गोविन्द केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना नभएको ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
supreme-court-long.jpg

काठमाडौं। सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रका विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा अदालतको अवहेलना नभएको फैसला गरेको छ । न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, मिरा खड्का, प्रकाशमान सिंह राउत, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठको बृहत् पूर्ण इजलासले गत माघ २३ गतेको फैसलाको आज सार्वजनिक गरेको पूर्ण पाठमा अवहेलना नभएको ठहर गरेको हो ।

“न्याय सम्पादनमा अवरोध गर्ने वा अदालतका आदेश वा फैसलाको अवज्ञा गर्ने कार्यलाई रोक्ने अदालतको अन्तर्निहित अधिकारको सन्दर्भमा मुद्दाको उठेको विषयवस्तु र अवहेलना भयो भनी दाबी गरिएको कार्य कति गम्भीर छ”, फैसलामा भनिएको छ, “यसले अदालतको निष्पक्षता उपर प्रत्यक्ष आक्रमण गरेको वा सर्वसाधारणको नजरमा न्यायिक कार्यप्रति भ्रम फैलाउने वा न्यायालयको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको छ वा छैन भनी हेर्नुपर्ने र त्यस्ता कार्य भए÷गरेको देखिएमा अवहेलनामा कारबाही र सजाय गर्न मिल्ने हो ।”

फैसलामा शक्तिको प्रयोग गर्दा संविधान प्रदत्त हक र स्वच्छ सुनुवाइका मान्यताहरूबारे समेत गहिरिएर विचार गरी सन्तुलित र सहिष्णु दृष्टिबाट निष्कर्षमा पुग्नुपर्ने उल्लेख छ । फैसलामा भनिएको छ, “अवहेलना भयो भनी उठाइएका विषयमध्ये कान्तिपुर दैनिकद्वारा प्रकाशित समाचारले अदालतको अवहेलना भयो भन्ने आधारको पुष्टि नगरेको र प्रा डा गोविन्द केसीउपरको कारबाहीको हकमा उहाँद्वारा प्रकाशित विज्ञप्ति र अभिव्यक्ति अशोभनीय देखिए पनि उहाँविरुद्दको कारबाहीमा स्वच्छ सुनुवाइको सिद्धान्तको सहीरूपमा अनुशरण गरिएको नपाइँदा दोषी ठहर गर्न नमिल्ने भएबाट अवहेलनामा सजाय हुनुपर्छ भन्ने दाबी पुग्न नसक्ने भई दुवै दाबी खारेज हुने ठहर्छ ।” -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ