arrow

बालबालिकादेखि लोकतन्त्रसम्मका लागि फेसबुक खतरनाक !

सुर्तीजन्य कम्पनीले सुर्तीको असर लुकाएझैँ गर्छन् 'टेक कम्पनी'

logo
एजेन्सी
प्रकाशित २०७८ असोज २० बुधबार
facebook.jpg

काठमाडौँ । सामाजिक सञ्जालको अत्यधिक र अव्यवस्थित प्रयोगले मानिसहरूमा अनेकौँ किसिमका मानसिक एवं शारीरिक समस्या उत्पन्न हुने विभिन्न अध्ययनले देखाउँदै आएका छन् ।

यसबिच फेसबुककै पूर्व कर्मचारीले अमेरिकी सिनेटमा बोल्दै फेसबुक साइट र यसका एपहरूले बालबालिकाहरूमा समस्यादेखि लोकतन्त्रकै लागि खतरा भएको बताएकी छन् ।

मङ्गलवार अमेरिकी संसदीय सुनुवाइका क्रममा फेसबुककी पूर्व प्रडक्ट म्यानेजर ३७ वर्षीय फ्रान्सिस हुगेन कम्पनीका गलत रणनीतिहरूबारे बालेकी हुन् ।

‘कम्पनीको नेतृत्वलाई फेसबुक र इन्स्टाग्राम कसरी सुरक्षित बनाउने थाहा छ, तर उनीहरू त्यस्तो गर्दैनन् । किनकि उनीहरूले मानिसहरू भन्दा ठुलो आफ्नो नाफालाई बनाउँछन्,’’ हुगेनले भनेकी छन् ।

यस्तै उनले फेसबुकका संस्थापक मार्क जुकरवर्गको समेत चर्को आलोचना गरेकी छन् । 'जुकरवर्गसँगै नै कम्पनीको मुख्य नियन्त्रण रहेको भन्दै अरू कसैले उनलाई जिम्मेवार बनाउन नसक्ने' हुगेनको भनाइ छ ।

सोमबार राति फेसबुक झन्डै ६ घण्टाका लागि डाउन भएको विषयमा समेत हुगेन बोलेकी छन् । 'विभाजन, लोकतन्त्रलाई अस्थिर बनाउन, जवान केटी र महिलाहरूलाई आफ्नो शरीर नराम्रो छ भन्ने महसुस गराउन'का लागि समेत फेसबुक जिम्मेवार रहेको उनको भनाइ छ ।

फेसबुकका संस्थापक जुकरवर्गले हुगेनको भनाइ झुटो रहेको भन्दै प्रतिक्रिया दिएका छन् । 'कम्पनीले हानिकारक सामग्री हटाउन, पारदर्शिता स्थापित गर्न र यस्ता मुद्दाहरूका लागि अनुसन्धान कार्यक्रम बनाउन प्रयास गरिरहेको' टिप्पणी जुकरवर्गले गरेका छन् ।

कम्पनीका अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ७० करोड रहेका छन् । करोडौँ नागरिकले कम्पनीका अन्य ह्वाट्सएप, इन्स्टाग्रामजस्ता प्रडक्टहरू समेत प्रयोग गर्ने गरेका छन् ।

यद्यपि, प्रयोगकर्ताको गोपनीयता, बढ्दो छानबिन, नियमनलगायतका विषयलाई लिएर कम्पनीको चर्को आलोचना हुन थालेको छ ।

हुगेनले कम्पनीका थुप्रै डोकुमेन्टहरु वालस्ट्रेट जर्नललाई उपलब्ध गराएको बताएकी छन् । त्यसपछि वालस्ट्रेट जर्नलले गरेको अनुसन्धानले इन्स्टाग्रामले किशोरीहरूको मानसिक स्वास्थ्यलाई क्षति पुर्‍याउने गरेको देखाएको थियो ।

फेसबुकले आफैले गरेको अध्ययनले समेत इन्स्टाग्रामले किशोरीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको देखाएको थियो । आफ्नो शरीरको बनावटलगायतका विषयलाई लिएर किशोरीहरूमा इन्स्टाग्रामले मानसिक समस्या उत्पन्न गराउने अध्ययनले देखाएको छ । 

यद्यपि, जुकरवर्गले भने इन्स्टाग्रामलाई गलत तरिकाले वर्णन गरिएको भन्दै यसले धेरैको जीवनमा सकारात्मक असर पारेको समेत बताएका छन् । आफूले विकास गरेको सबै कुरा बच्चाहरूका लागि सुरक्षित र राम्रो हुनु महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

मङ्गलवारकाे सुनुवाइमा रिपब्लिकन र डेमोक्रेट दुवै दलका सिनेटरहरू कम्पनीमा फेरबदलका लागि एकजुट भएका छन् । यो विरलै मुद्दा हो जसमा दुवै दलका सिनेटरहरू एकजुट हुने गर्छन् ।

'आज फेसबुकका कारण आफूमाथिको रुचि हट्नु र आफ्नो क्षमता कमजोर ठान्नुले पुस्तौँलाई क्षति पुर्‍याउँछ,' डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्टलले भनेका छन् ।

''सुर्तीजन्य कम्पनीहरूले सुर्तीको हानिकारक असर लुकाउन खोजेझैँ गर्न थालेका छन् ठुला 'टेक्नोलोजी कम्पनीहरू','' उनले भने । यस्तै रिपब्लिकन सिनेटर दान सुलिवानले पनि सामाजिक सञ्जालको नकारात्मक असरमाथि बोल्दै 'हामी के सोचिरहेका छौँ ?,' भन्दै प्रश्न गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ