- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को बुधवार दिउँसो बसेको कार्यकारिणी समितिले मन्त्रीको नाम छनौट गर्ने सबै अधिकार पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। अहिले जसपाका भट्टराई र यादवले आन्तरिक छलफल गरिरहेको गरिरहेको जसपाका नेताहरूले जनाएका छन्। अहिलेसम्म उनीहरूले कसैको नाम टुङ्गो नलगाएको जसपाका नेता मृगेन्द्रसिंह यादवले बताए।
जसपाका एक नेताका अनुसार मन्त्रीको आकाङ्क्षीहरू बढे भए पछि भट्टराई र यादवलाई मन्त्री छान्न सकस परेको छ। सबैले आफ्नो नाम छान्न विभिन्न किसिमबाट दबाब दिने गरेका छन्। जसपामा २१ जना प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसद छन्। ती मध्ये धेरैजसो मन्त्री कोलागि आकाङ्क्षी छन्। मन्त्री हुनकै लागि महन्थ ठाकुर कित्ताबाट कित्ता परिवर्तन गरी ७ जना सांसद उपेन्द्र यादव तीर गएका छन्।
जसपाले सरकारमा ४ वटा मन्त्रालय मात्र पाएको छ। जसमा ४ जना नेताको मात्र नाम छनौट गर्नु पर्ने बाध्यता जसपाका शीर्ष नेताहरूलाई छ। मन्त्रीको सूचिमा नपरेकाहरू नेतृत्वसँग गम्भीर असन्तुष्ट हुने निश्चित छ। उनीहरूले विद्रोह गर्न नसकुन् भनी जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पछि मात्र सरकारमा जाने अडान राखेको थियो।
जसपाको अडान अनुसार अध्यादेश खारेज भएपछि जसपा सरकारमा जान तयार भएको हो। स्रोतका अनुसार जसपाले एउटा उपसभामुख पद पनि पाउने भएको छ। यद्यपि बुधवार बोलाइएको कार्यकारिणी समितिको बैठकमा उपसभामुखको बारेमा छलफल नभएको अमृता अग्रहरीले बताइन।
बुधवारको बैठकमा सरकारमा जाने विषयमा न्यूनतम मापदण्ड बनाएको छ। भौगोलिक, वर्ग,समुदाय, संस्कृति, धर्म सबै क्षेत्रबाट समावेशी नाम छान्नु पर्ने तर्क कार्यकारिणी समितिको बैठकमा उठेको थियो।