- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले आगामी कार्तिक २६ गते बैङ्कको २३औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैङ्कले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै बैङ्कको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। बैङ्कले शेयरधनीलाई सञ्चित मुनाफाबाट रु. १ अर्ब २० करोड बोनस शेयर र रु. ६ करोड ३३ लाख नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा रु. १ अर्ब २६ करोड लाभांश वितरण गर्न नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेको छ।
बैङ्कले शेयरधनीहरूलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो। उक्त लाभांश बैङ्कको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् वितरण हुनेछ। वार्षिक साधारण सभा प्रयोजनको लागि कार्तिक ७ गते शेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैङ्कले जनाएको छ।
बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।
माछापुच्छ्रे बैङ्क लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरू र १७५ शाखारहित बैङ्किङ सेवा, ७ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३४४ स्थानबाट १० लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०३ बटा एटिएमहरू सञ्चालनमा रहेको छन्।