सरकारमै नजाने माधव नेपालको चेतावनीपछि मन्त्रालय हेरफेर, आजै सरकार विस्तार हुने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असोज २२ शुक्रबार
1.3k
Shares
फाइल तस्बिर
काठमाडौँ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हेरफेर गरेर टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि केही समय ढिलाइ भएको भए पनि बिहीबार साँझ सहमति जुटेसँगै आज विस्तार गर्ने तयारी भएको हो।
मन्त्रिपरिषद् विस्तारमा मङ्गलवारकै बैठकमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका थिए। तर गठबन्धन मध्येका शीर्ष नेता माधवकुमार नेपालले मन्त्रालयको भागबन्डामा असहमति जनाएका थिए। नेकपा एसले पाउनुपर्ने मन्त्रालय र मन्त्रीको सङ्ख्यामा पनि असन्तुष्टि जनाएका थिए।
बिहीबार साँझ भने प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री एसलाई दिने सहमति गरिएको छ। साथै काँग्रेसले पाएको स्वास्थ्य मन्त्रालय एसलाई दिएर भागबन्डा मिलाइएको छ। पर्यटन, सहरी, स्वास्थ्य र श्रम मन्त्रालय एस पार्टीलाई दिइएको छ। त्यसै गरी चार मन्त्री र दुई राज्यमन्त्री पनि एस पार्टीलाई दिने सहमति गरेपछि एस पार्टी सरकारमा जान सहमत भएको हो।
यसअघि एस पार्टीले माओवादीकै हाराहारीको मन्त्रालय दाबी गर्दै आएको थियो। शिक्षा, भौतिक र सञ्चारमा एस पार्टीले दाबी गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना अघि सरकारमा सहभागी हुन आग्रह गर्दै नेपाललाई भौतिक र सञ्चार लिन आग्रह गरेका थिए। तर त्यति बेला नेपालले अध्यादेश फिर्ता नभएको भन्दै सरकारमा जान आनाकानी गरेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता गरे।
परराष्ट्र मन्त्रालयमा उपेन्द्र यादवले आँखा लगाएका थिए। उनले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय मागे पनि देउवाले राष्ट्रसङ्घको महासभालाई देखाएर काँग्रेसकै नारायण खड्का नियुक्त गरिदिए। त्यसै गरी परराष्ट्रमा माओवादीका प्रवास विभाग प्रमुख नारायण काजी श्रेष्ठले पनि आँखा गाडेका थिए। तर उनलाई देउवाले नै अस्वीकार गरिदिए।
परराष्ट्रमा देउवाले आफ्नै पार्टीबाट खड्कालाई मन्त्री बनाएपछि गठबन्धनमा खटपट उत्पन्न भएको थियो। ‘देउवाजीले सुरुमा भौतिक र सञ्चार दुवै मन्त्रालय दिनु भएको थियो अहिले पर्यटन र सहरी मात्रै दिएर टार्न खोजेपछि सरकारमै नजाने कि भन्ने कुरा उठ्यो पछि स्वास्थ्य पनि दिने भनेपछि सहमति भएको हो’,नेकपा एसका एक स्थायी कमिटी सदस्यले भने।
उनका अनुसार बिहीबारको स्थायी कमिटी बैठकमा राम्रा मन्त्रालय नदिने हो भने सरकारमा नजाने भन्ने कुरा पनि उठेको थियो। तर गठबन्धनको बैठकबाट अध्यक्ष नेपाल स्थायी कमिटीको बैठकमा सहभागी भएपछि स्वास्थ्यसहितका मन्त्रालयमा सहमति भएको र प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्रीमा सहमति भएको बताइएपछि भने सरकारमा जाने निर्णय भएको हो।
बिहीबारको नयाँ सहमतिसँगै शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। ‘दलहरूबिच नयाँ सहमति बनेको छ, आज मन्त्रिपरिषद् विस्तार हुन्छ,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने।
बिहीबार बसेको गठबन्धन बैठकले यसअघि भएको सहमतिअनुसार दलहरूले पाउने मन्त्रीको सङ्ख्यालाई यथावत् राख्दै मन्त्रालय भने सामान्य हेरफेर गरेको थियो। जसअनुसार नेकपा एसको तर्फबाट मन्त्री पठाउने भनिएको कानुन मन्त्रालय प्रमुख सत्तारुढ दल काँग्रेसले नै राख्ने भएको छ। नेकपा एसलाई कानुन मन्त्रालयको ठाउँमा स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ।
त्यसबाहेक नेकपा एसले श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन र सहरी विकास मन्त्रालय पाएको छ। यसअघि कानुन मन्त्रालय नेकपा एसको भागमा परे पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए। जसका कारण नेकपा एसमा असन्तुष्टि बढेको थियो। अध्यक्ष माधव नेपालले मन्त्रालय हेरफेर नभए आफ्नो पार्टी सरकारमा जान नसक्ने जानकारी गराएका थिए।
नयाँ सहमतिअनुसार नेकपा एसले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्रीसमेत पाउने सुनिश्चित भएको छ। ‘मन्त्रालय भागबन्डाका विषयमा हाम्रा केही असहमति थिए। गठबन्धनका शीर्ष नेताबिचको बैठकले यसलाई हल गरेको छ।
चार मन्त्री र एक राज्यमन्त्री हामीले पाउने भएका छौँ, यसका साथै प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पनि हाम्रो पार्टीले पाउने सुनिश्चित भएको छ,’ खतिवडाले भने। एकीकृत समाजवादी भित्र मन्त्री र मन्त्रालयको विषयलाई लिएर असन्तुष्टि बढेपछि बुधवार कुनै औपचारिक छलफल नै हुन सकेको थिएन।
त्यसपछि अध्यक्ष नेपाल बिहीबार बसेको पार्टीको स्थायी कमिटीको छलफलबाट भागबन्डामा हेरफेर गर्नुपर्ने प्रस्ताव लिएर बालुवाटारमा जारी गठबन्धनको बैठकमा पुगेका थिए। त्यहाँ मन्त्रालय हेरफेरमा दलहरू सहमत भएपछि अध्यक्ष नेपाल पुनः बैठक स्थल पुगेर उक्त जानकारी गराएका थिए।
बैठकले सरकारमा सहभागी हुने मन्त्री टुङ्गो लगाउने जिम्मेवारी नवगठित केन्द्रीय सचिवालयलाई दिएको छ। आज बस्ने सचिवालय बैठकले चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाउने छ। नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले मगर, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र किसान श्रेष्ठमध्ये पाँच जनालाई सरकारमा पठाउने चर्चा चलेको छ।