arrow

बडादसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
Dashain-brahmacharini-nawar.jpg

काठमाडौं। नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। 

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

नवरात्रमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । गत वर्ष जस्तो कोरोना भाइरसको सङ्क्रमण तीव्र नभए पनि जोखिम भने कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर शक्ति पीठमा दर्शन एवं पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ ।

यसै गरी राज्यकोतर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ